नेपाल भ्युज । भारतीय राष्ट्रिय कांग्रेसमा केन्द्रीय अध्यक्ष पदको निर्वाचन प्रक्रिया सुरु भएको छ । पार्टी निर्वाचन कमिटीले सेप्टेम्बर २० देखि ३० सम्म उम्मेद्वारीको समय दिएको छ । कांग्रेसमा २० वर्षपछि पार्टी अध्यक्ष पदको विधिवत निर्वाचन हुन लागेको हो । तर, नामांकन गर्न ३ दिन बाँकी रहँदासम्म कसैले उम्मेद्वारी दिएको छैन ।
सन् २०१९ यता सोनिया गान्धीले कांग्रेसको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । स्वास्थ्य र उमेरको कारणले उनी अध्यक्ष पदको दौडभन्दा बाहिर छन् । सोनिया मात्र हैन, गान्धी परिवारका अन्य सदस्यले पनि यसपटक अध्यक्ष पदमा दाबेदारी पेश नगर्ने भएका छन् ।
पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी यतिखेर ‘भारत जोडो’ पैदलयात्रामा छन्। उनको यो यात्रा कन्याकुमारीदेखि कश्मिरसम्म ३ हजार ७५० किलोमिटर लामो र करिब ५ महिनाको हुने बताइएको छ । गान्धी परिवारकी अर्की सदस्य तथा पार्टी महासचिव प्रियंका गान्धी पनि अध्यक्षको दौडमा छैनन् । गान्धी परिवारका तीनै जाना सदस्यले यसपटक बाहिरबाट पार्टी अध्यक्ष भएको हेर्न चाहेको देखिन्छ ।
तर, परिवारभित्रको व्यक्ति नभए पनि गान्धी परिवारप्रति सदासयता राख्ने र नजिक रहेर सहकार्य गर्न सक्ने व्यक्तिको खोजी भइरहेको छ । भारतीय राजनीतिका जानकार भन्छन्–‘अध्यक्ष भए पनि नभए पनि कांग्रेसका वास्तविक नेता यतिखेर राहुल गान्धी नै हुन् । राहुलको इच्छाविपरीत उम्मेद्वार भए पनि जित्ने सम्भावना न्यून हुन्छ।’
कांग्रेसको अध्यक्षका लागि गान्धी परिवारको छनोटमा राजस्थानका मुख्यमन्त्री अशोक गहलोत परेका छन् । उनी राजस्थानका लोकप्रिय कांग्रेस नेता हुन् । देशका धेरै जसो प्रदेशमा कांग्रेस कमजोर भइसक्दा पनि गहलोतले राजस्थानमा पार्टीको सत्ता जोगाइराखेका छन् ।
तर, गहलोतका लागि राहुल गान्धीले ‘एक व्यक्ति, एक पद’ को सर्त तेर्साएका छन् । कांग्रेसको राष्ट्रिय अध्यक्ष हुने हो भने राजस्थानको मुख्यमन्त्रीको पद उनले छोड्नु पर्नेछ । राहुल गान्धीको सर्त गहलोतका लागि निकै अप्ठ्यारो सावित भएको छ ।
यसले राजस्थानको राजनीतिमा नयाँ संकट देखिएको छ । कांग्रेसको शीर्ष नेतृत्व गहलोतलाई मुख्यमन्त्रीबाट राजीनामा गराई केन्द्रीय अध्यक्ष बनाउन र मुख्यमन्त्रीमा उपमुख्यमन्त्री सचिन पाइलटलाई स्थापित गर्न चहन्छ ।
यही मिसन लिएर सोनिया गान्धीले मल्लिकार्जुन खड्गे र अजय माकनलाई केन्द्रीय प्रतिनिधि तथा पर्यवेक्षक बनाएर राजस्थान पठाइन । तर, कांग्रेस विधानसभा संसदीय दलले पार्टी केन्द्रीय नेतृत्वको इच्छालाई अनुमोदन गरेन ।
१०३ जना रहेको संसदीय दलमा १० जना मात्र सचिन पाइलटको पक्षमा देखिए । ९३ जना विधानसभा सदस्यले नेतृत्वलाई दबाब दिन प्रदेश सभामुखसमक्ष सामूहिक राजीनामा बुझाए । उनीहरूले अशोक गहलोतले मुख्यमन्त्री रहेरै कांग्रेस अध्यक्षको उम्मेद्वारी दिन पाउनु पर्ने माग गरेका छन् । यदि, गहलोतले मुख्यमन्त्री छोड्ने हो भने पनि सचिन पाइलटको साटो संसदीय दलको नयाँ नेताको चुनाव हुनुपर्ने उनीहरूको माग छ ।
राजस्थान विधानसभा सदस्यको ठूलो बहुमतले केन्द्रको इच्छा अस्वीकार गरेपछि कांग्रेसको शीर्ष नेतृत्व निकै अप्ठ्यारोमा परेको छ । राजस्थान राजनीतिका जानकारले यसलाई मुख्यमन्त्री अशोक गहलोतको मुख्यमन्त्री पद नछोड्ने मनसायका रूपमा लिएका छन् । जयपुरस्थित एक राजनीतिक विश्लेषक अनिल शर्मा भन्छन–‘गहलोतलाई मुख्यमन्त्री र राजस्थानको राजनीति छोडेर कांग्रेसको केन्द्रीय अध्यक्ष हुने मन छैन । मुख्यमन्त्रीको इसारा बिना ९३ सांसदले सामूहिक राजीनामा गर्ने कुरा सोंच्न सकिन्न ।’
राजस्थान कांग्रेसका सदस्यले केन्द्रीय पर्यवेक्षक अजय माकनप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले माकनले अध्यक्ष बनाउने नाममा माकनले गहलोतलाई मुख्यमन्त्रीबाट अपदस्थ गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । घटनाक्रमबारे मुख्यमन्त्री गहलोतले अब स्थिति आफ्नो हातबाट बाहिर गइसकेको प्रतिक्रिया दिएका छन् ।
गहलोत लामो समयदेखि गान्धी परिवारको नजिक र बफादार रहेको मानिन्थे । तर, पछिल्ला घटनालाई यसपटक उनले गान्धी परिवारको इच्छा नमानेको अर्थमा हेरिएको छ । उनी अहिले ७१ वर्षका छन्। उनी पार्टीको केन्द्रीय अध्यक्ष हुनुभन्दा प्रदेश राजनीतिको पकड बलियो बनाएर राजनीतिमा अझै केही वर्ष रहन चाहन्छन् ।
मुख्यमन्त्रीबाट हटाएर मात्र कांग्रेस अध्यक्ष बनाउने गान्धी परिवारको योजना उनलाई मन परेको छैन । सचिन पाइलट भने असन्तुष्ट कांग्रेस नेता हुन् । गत वर्ष ज्योतिरादित्य सिन्धिया भाजपा प्रवेश गर्दा पाइलट पनि १८ विधानसभा सदस्य सहित भाजपा प्रवेश गर्ने हल्ला चलेको थियो । कांग्रेस हाइकमाण्डले उनलाई भाजपा प्रवेश गर्नबाट रोकेको थियो ।
सचिन पाइलट पनि गान्धी परिवारका नजिकका व्यक्ति हुन् । उनी राजिव गान्धीका मित्र राजेश पाइलटका छोरा हुन् । कांग्रेसका असन्तुष्ट वा गैरगान्धी खेमा जसलाई ‘२३ जनाको समूह’ भनिन्छ– ले भने लेखक तथा केरलाका लोकसभा सदस्य शशि थरुरलाई अध्यक्षको उम्मेद्वार बनाउने सम्भावना छ ।
शशिले आफ्नो उम्मेद्वारी घोषणा गरे पनि नामांकन भने गरेका छैनन् । गान्धी परिवार पक्षको खेलले कसरी अन्तिम मोड लिन्छ, त्यसको टुंगो भएपछि मात्र शशि थरुरले अन्तिम निर्णय लिने संभावना छ । शशि बौद्धिक व्यक्तित्व मानिन्छन् । उनले करिब डेड दर्जन किताब लेखेका छन् । उनी मनमोहन सिंह सरकारमा केन्द्रीय मन्त्रीसमेत भएका थिए । गहलोतले राष्ट्रिय अध्यक्षको उम्मेद्वार हुन अस्वीकार गरे गान्धी परिवारले कस्लाई अगाडि सार्छ, त्यो भने अस्पष्ट छ।
Facebook Comment
Comment