पुटिनलाई मोदीको ‘थ्रि डी’ सुझाव, भने “अहिले युद्धको समय हैन”

मोदी–पुटिन वार्ताले चर्चा पाएको छ । पुटिनसँग मोदीको आग्रह र प्रतिक्रियालाई ‘साहसिक टिप्पणी’ मानिएको छ । मोदीले भनेका छन्–‘मलाई लाग्छ आजको युग भनेको युद्धको हैन, हामीले बारम्बार टेलिफोनमा कुरा गरेकै हौ कि ‘डेमोक्रेसी, डिप्लोमेसी र डाइलग’ नै त्यस्ता चिज हुन जसले विश्वलाई छुन सकिन्छ।’ 

नेपालभ्युज

पुटिनलाई मोदीको ‘थ्रि डी’ सुझाव, भने “अहिले युद्धको समय हैन”

काठमाडौं । सांघाई कोअपरेसन अर्गानाइजेशन (एससीओ) को ‘२२ औं हेड अफ द काउन्सिल’ बैठकमा भाग लिन उज्जबेकिस्तानको समरकन्द पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्धबारे असहमति प्रकट गरेका छन्।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार ‘साइडलाइन वार्ता’ मा मोदीले पुटिनसँग ‘अहिले युद्धको समय हैन’ भन्दै ‘शान्तिको बाटोमा हिड्न’ आग्रह गरेका थिए । मोदीले पुटिनलाई समस्या समाधानको ‘थ्रि डी’ उपाय स्मरण गराएको समेत उल्लेख गरिएको छ । मोदीले भनेका थिए ‘डेमोक्रेसी, डिप्लोमेसी र डाइलग’ बाट धेरै समस्याको समाधान खोज्न सकिन्छ ।

एससीओ एक क्षेत्रीय सहयोग संगठन हो । यसको बैठकमा भाग लिन चिनियाँ राष्ट्रपति सी चिन फिङ र पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफलगायतका नेताहरु समरकन्दमा भेला भएका थिए। भारत, चीन, रुस, पाकिस्तान, कजाकिस्तान, किर्किस्तान, ताजकिस्तान र उज्जबेकिस्तान यस संगठनका स्थायी सदस्य राष्ट्र हुन् ।

तर, मोदी–पुटिन वार्ताले भने बिशेष चर्चा पाएको छ । पुटिनसँग मोदीको आग्रह र प्रतिक्रियालाई ‘साहसिक टिप्पणी’ मानिएको छ । मोदीले थप भनेका छन्–‘मलाई लाग्छ आजको युग भनेको युद्धको हैन, हामीले बारम्बार टेलिफोनमा कुरा गरेकै हौ कि ‘डेमोक्रेसी, डिप्लोमेसी र डाइलग’ नै त्यस्ता चिज हुन जसले विश्वलाई छुन सकिन्छ।’

पुटिनले मोदीलाई ‘आफूलाई भारतीय सरोकार राम्रोसँग थाहा भएको’ प्रतिउत्तर दिएका थिए । पुटिनले भने–‘युक्रेन युद्धबारे तपाइँको ‘पोजिसन’ मलाई राम्ररी थाहा छ, हामी यथासंभव छिटो यो स्थितिको अन्त्य गर्न चाहन्छौं।’

मोदी–पुटिन वार्तापछि भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार वार्ताक्रममा दुवै नेताले ‘चालु भूराजनीतिक अवस्था र चुनौतीबीच विश्व खाद्य तथा उर्जा सुरक्षा र मलको उपलब्धताबारे’ चासो राखेका थिए ।

विज्ञप्तिअनुसार दुबै नेता ‘नजिकको सम्बन्ध’ मा रहन सहमत भएका छन् । प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई ‘युद्ध रोक्न’ आग्रह गरिरहँदा रुसी सेनाले कब्जा गरेका भूभाग युक्रेनी सेनाले फिर्ता गरिरहेको छ । भारतले रुसबाट ठूलो मात्रामा सैन्य हातहतियार र तेल खरिद गर्ने गर्छ । युक्रेन गहुँको निर्यातक राष्ट्र हो । युक्रेन युद्धपछि खाद्यान्न र उर्जाको मूल्य विश्वभरि बढेको छ ।

मोदीसँगको बार्ता अघि पुटिनले चिनियाँ राष्ट्रपति सीसँग भेटघाट गरेका थिए । युक्रेन युद्धमा चीनको भूमिकालाई पुटिनले प्रशंसा गरेका थिए । चीनले रुस- युक्रेन युद्धको विरोध गरेको छैन, नत खुलेर समर्थन नै गरेको छ । यस्तो स्थितिमा युयुद्ध रोक्न मोदीले रुसी राष्ट्रपति पुटिनसँग गरेको आग्रहलाई पश्चिमा राष्ट्रले सकारात्मक रुपमा लिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved