कसले चलायो ‘बच्चा चोर’काे हल्ला ? जसले देशभरका अभिभावकमा फैलियो त्रास

फेसबुक, टिकटक ट्वीटरतिर केही सातायता धेरैले बच्चा र चोरसहित भन्दै फोटो समेत राखेर पोस्ट गर्न थाले। कहिले मोरङ, सिराहा, बारा, कहिले रुपन्देही, नवलपरासी, बाँके, बर्दिया, धनगढी, त कहिले कता ससाना केटाकेटीलाई अपहरण गरेर लैजाने घटना भएको भन्दै सामाजिक सञ्जालमा पोस्ट भइरहेका छन्।

नेपालभ्युज

कसले चलायो ‘बच्चा चोर’काे हल्ला ? जसले देशभरका अभिभावकमा फैलियो त्रास

काठमाडौं। नेपाललाई हल्लै हल्लाको देश भनेर चित्रण गरिन्छ। यसो भन्नुको मुख्य कारण भूपी शेरचनको कविता ‘यो हल्लै–हल्लाको देश हो’ ले स्थापित गरेको हो। ‘यो हल्लै–हल्लाको देश हो’ भन्नुमा केही सत्यता पनि छ।

२०२४ सालको रूप–रेखा पत्रिकामा छापिएको कविता २०२३-०२४ सालतिर लेखेको बताइन्छ। भूपी शेरचनले झन्डै साढे ५ दशक अगाडि लेखेको कविता यो किन आजसम्म यति सान्दर्भिक जस्तो भइरहेको छ ? सहजै अनुमान गर्न सकिन्छ।

किनकि यहाँ जो कसैले कुनै हल्ला फैल्यायो भने एक कान दुई काम मैदान बन्छ। अर्थात् सत्यताको परीक्षण नगरी हल्ला मच्चाइन्छ। र सिङ्गो समाजमा भ्रम र त्रास सृजना हुन्छ ।

साढे पाँच दशक (५५ वर्ष) अघिको बन्द समाजदेखि अहिलेसम्म हल्लामा आधारित समाजको गति र ताल उही देखिन्छ। आजको सूचना प्रविधिको युगमा झन उडन्ते कुरालाई सामाजिक सञ्जाल प्रयोगकर्ताले सजिलै विश्वास गर्दै आएका छन्। यथार्थ जान्नेतिर नलागेर हल्लैहल्लाका पोस्ट शेयर गरेर भाइरल बनाउने क्रम बढेको छ ।

कसरी फैलियो ‘बच्चा चोर’को हल्ला

पछिल्लो समय चलेको हल्लाको विषयवस्तु हो ‘बच्चा चोरको घटना।’ बच्चाहरू चोरी गरी भारत लगेर मिर्गौला, आँखालगायतका शरीरका विभिन्न अङ्ग झिकी बिक्री गर्ने गरेको भन्दै सूचनासहित सचेत हुन आग्रह गरिएका पोस्ट सामाजिक सञ्जालमा देखिन थाल्यो।

फेसबुक, टिकटक ट्वीटरतिर केही सातायता धेरैले बच्चा र चोरसहित भन्दै फोटो समेत राखेर पोस्ट गर्न थाले। कहिले मोरङ, सिराहा, बारा, कहिले रुपन्देही, नवलपरासी, बाँके, बर्दिया, धनगढी, त कहिले कता ससाना केटाकेटीलाई अपहरण गरेर लैजाने घटना भएको भन्दै सामाजिक सञ्जालमा पोस्ट भइरहेका छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताबाटै आएको यस्तो सूचना धेरैले शेयर गरेर भाइरल बनाए। बच्चा चोर्ने क्रममा पक्राउ परेको र बच्चा लिएर भागेको भन्दै केही फोटो पनि पोस्ट भएका छन् । त्यसले धेरैलाई घटना हो कि भन्ने भ्रममा पारेको देखिन्छ ।

आफ्नो सन्तानको सुरक्षालाई लिएर ससाना छोराछोरी हुने बाबुआमा डराएका छन्। बिशेषगरी स्कुले विद्यार्थीका अभिभावक त्रासमा परे। कतिपय अभिभावकले बच्चा स्कुल नै पठाएनन्। कतिपयले घरबाहिर खेल्न जान बन्देज लगाए।

नेपालगन्ज उपमहानगरपालिका–१० स्थित न्यू ग्यालेक्सी स्कुलले त सूचना नै निकाल्यो। अभिभावकलाई जारी गरिएको सूचनामा भनियो ‘‘आदरणीय अभिभावकज्यू, हाल भारतबाट बच्चा चोरेर लैजाने एउटा ठूलो समूह नेपालमा भित्रिएको जानकारी हामीहरूलाई आएकाले, यहाँहरूलाई सावधानी अपनाउँदै आफ्ना बालबालिकाहरूलाई विद्यालय ल्याउँदा र लैजाँदा विशेष ध्यान दिनुहुन जानकारी गरिन्छ।’’

त्यसपछि अरू विद्यालयले समेत त्यही सूचना जारी गर्दै गए। साताभरमा देशभर बच्चा चोरी हुने घटना देशैभर फैलियो। सुरुमा भारतीय सीमा क्षेत्रमा भइरहेका भनिएका यस्ता घटना पहाडी क्षेत्रमा समेत भएको भन्दै सर्तक रहन भनियो। जसबाट देशैभरका अभिभावक त्रासमा परे ।

बच्चा चोरीको प्रचार भ्रामक हो – प्रहरी

सामाजिक सञ्जालमा भाइरल भएका यस्ता समाचार तथा सूचना तब ‘हल्लैहल्ला मात्र रहेको’ तब थाहा भयो सोमबार राति प्रहरीले एक सूचना जारी गर्‍यो।

प्रहरीको साइबर ब्युरोले हालसम्म कुनै पनि बालबालिका चोरी वा हराएको भनी सूचना/उजुरी नआएको भन्दै त्यस्तो प्रचार भ्रामक भएको बतायो। बच्चा चोरीको घटना पनि भूपी शेरचनको कविता ‘हल्लै हल्लाको देश’ जस्तै मिथक भएको पुष्टी भयो।

‘‘भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्ति नेपालको विभिन्न भागमा भित्रिएर बच्चा चोरी गरी भारत लगेर मिर्गौला, आँखा लगायतका शरीरका विभिन्न अङ्गहरू झिकी बिक्री गर्ने गरेको भन्ने ब्यहोरा लेखेर विभिन्न व्यक्तिका तस्वीर समेत संलग्न गरी सामाजिक सञ्जालमा फैलाइएको भ्रामक प्रचार प्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सामाजिक सञ्जालमा पोस्ट भएका भ्रामक प्रचारमा उल्लेख भएझैँ देशभर रहेका कुनै पनि प्रहरी कार्यालयमा हालसम्म कुनै पनि माध्यमबाट कुनै पनि उजूरी/सूचना प्राप्त नभएको विज्ञप्तिमा उल्लेख छ।

साइबर ब्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायद्धारा जारी विज्ञप्तिमा थप भनिएको छ, ‘‘तसर्थ त्यस्तो भ्रामक प्रचारमा विश्वास नगर्नुहुन सम्पूर्ण नागरिकमा हार्दिक अनुरोध गर्दछौँ। सामाजिक सञ्जालमा त्यसरी भ्रामक प्रचार गर्नेलाई नेपालको प्रचलित ऐन, कानुनबमोजिम कारबाही गरिने छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved