जनसंख्यामा चीनलाई उछिनेर भारत एक बर्षमै पहिलो हुने

सँगसँगै यो अनुमान पनि गरिएको छ कि चीनको जनसंख्या अब घट्न थाल्नेछ । सन् २०५० सम्म पुग्दा चीनको जनसंख्या करिब १ अर्ब ३२ करोड मात्रै रहनेछ भने त्यतिन्जेलसम्म भारतको जनसंख्या करिब १ अर्ब ६७ करोड पुग्नेछ । 

नेपालभ्युज

जनसंख्यामा चीनलाई उछिनेर भारत एक बर्षमै पहिलो हुने

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विश्व जनसंख्या सन्दर्भको पछिल्लो बार्षिक अनुमान अनुसार आउने एक बर्षभित्र भारत चीनलाई उछिन्दै विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश बन्ने छ ।

प्रक्षेपित अनुमानअनुसार चीनको जनसंख्या अहिले १ अर्ब ४३ करोड ९३ लाख  छ भने भारतको १ अर्ब ४० करोड ९६ लाख छ । भारत र चीनको जनसंख्याबीच करिब ३ करोडको मात्रै भिन्नता छ । दुई देशको जनसंख्या बृद्धिदर तुलना गर्दा भारतले एक बर्षभित्रै चीनलाई उछिन्न सक्ने छ।

यसो हुनुको मुख्य कारण चीनमा जनसंख्या बृद्धिदर संकुचन हुनु र भारतमा तीव्र बृद्धि कायमै रहनु हो । तीन बर्ष अघिको अनुमानमा भारतले चीनलाई उछिन्न अझै ५ बर्ष अर्थात् सन् २०२७ सम्म लाग्छ भन्ने थियो । तर, दुई देशको पछिल्लो दुई बर्षको जनसांख्यिक प्रवृति हेर्दा १ बर्षमै भारतले चीनलाई उछिन्ने देखिएको हो ।

सँगसँगै यो अनुमान पनि गरिएको छ कि चीनको जनसंख्या अब घट्न थाल्नेछ । सन् २०५० सम्म पुग्दा चीनको जनसंख्या करिब १ अर्ब ३२ करोड मात्रै रहनेछ भने त्यतिन्जेलसम्म भारतको जनसंख्या करिब १ अर्ब ६७ करोड पुग्नेछ । सन् १९९० सम्म चीनको जनसंख्या बृद्धिदर औसत २.६ प्रतिशत थियो, गत बर्ष यो दर घटेर १.१६ प्रतिशत मात्रै थियो ।

चीनमा यस्तो हुनुका मुख्य तीन कारण औल्याइएको छ । पहिलो–चिनियाँ दम्पतिमा सन्तान जन्माउने प्रवृति निरन्तर घट्दो छ । न्युन आय भएका र शिक्षित दम्पति बच्चा जन्माउन अनिच्छुक हुँदै गएका छन् । दोस्रो– चीनले सन् १९८० देखि सन् २०१६ सम्म ३६ बर्ष ‘एक बच्चा नीति’ अबलम्बन गरेको थियो । दम्पतिलाई एकभन्दा बढी बच्चा जन्माउन निषेध गरिएको थियो । जन्माएमा राज्यले दंडित गर्थ्यो ।

यस अवधिमा चीनको जनसंख्यामा लैङ्गिक अनुपातको दुरी बढ्यो। पुरुषको संख्या धेरै हुँदै गयो र महिलाको कम । तसर्थ, सबै चिनियाँ पुरुषले बिवाह गर्न महिला प्राप्त गर्न सकेनन् । करिब ३ प्रतिशत चिनियाँ पुरुष अविवाहित हुने गरेको बताइन्छ । औसत देशको जनसंख्यामा पुरुषभन्दा महिलाको संख्या धेरै हुन्छ । तर, चीनमा भने ठीक उल्टो छ । सन् २०२२ को तथ्यांकमा १०० महिला बराबर १०६ पुरुष भएको देखिन्छ । पुरुषको अनुपात ५१.२९ र महिलाको जनसंख्या ४८.७१ रहेको छ ।

तेस्रो कारण भने– जनसंख्यामा युवाभन्दा बृद्धबृद्धाको अनुपात धेरै हुन थाल्नु र मृत्युदर बढ्नु हो । सन् २०२२ मा चीनको मृत्युदर ७.६८ प्रतिशत पुग्यो । जबकी सन् २००० तिर यो दर १.०८ प्रतिशत मात्र थियो । ठीक उल्टो भारतमा जनसंख्या बृद्धिदर तीव्र हुनुका ३ वटा कारण औल्याइएको छ ।

एक–भारत सरकारको जनसंख्या नीति खासै बलियो र प्रभावकारी छैन । चीनले जस्तो भारतले कहिल्यै नियोजनका उपाएमा कडाई गरेको छैन । परिवार नियोजनका उपायको प्रयोग पनि सीमित छ ।

दुई–चीनमा भन्दा भारतमा गरिब र अशिक्षित जनसंख्या अनुपात धेरै छ । शिक्षित, धनी र मध्यम वर्गीय दम्पतिका तुलनामा गरिब र अशिक्षित दम्पतिमा बच्चा जन्माउने दर बढी छ । तीन– भारतीयहरु साँस्कृतिक र धार्मिक रुपले नै जन्मलाई स्वभाविक मान्दछन् ।

भारत र चीनको जनसंख्या अनुपात उल्टो हुँदै जाँदा यी देशको अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ र त्यसको परिणाम विश्व अर्थतन्त्रमा कसरी देखिने हो भन्ने कोणबाट पनि बहस हुने गरेको छ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो भने छैठौं स्थानमा रहेको भारत हालै बेलायतलाई उछिन्दै पाँचौ स्थानमा उक्लिएको अन्तर्राष्ट्रिय मुद्रा कोषको ठहर छ ।

जनसंख्या संकुचनसँगै श्रमयोग्य जनशक्तिको अभाव भई अर्थतन्त्र शिथिल हुने भय चिनियाँ सरकार र अधिकारीमा देखिन्छ । सन् २०१६ मा एक बच्चा नीति हटाइनुकोे मुख्य कारण यही थियो । चीनको ६० बर्षमाथिको जनसंख्या १७.९ प्रतिशत छ भने भारतमा यस्तो अनुपात १३.१ प्रतिशत मात्रै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved