काठमाडौं। नेपाल खेलकुद महासंघ (नेकोस)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य एकेन्द्र कुँवरलाई प्रतिनिधिसभा सदस्यको समानुपातिक उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी एमालेको निकट खेलकुद संगठन नेकोसले अन्तरपार्टी निर्देशनअनुसार खेलकुद महासंघको तर्फबाट प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारको रूपमा कुँवरको नाम सिफारिस गरेको हो । कुँवरलाई अछाम क्षेत्र नम्बर एकबाट पहिलो नम्बरमा राख्दै महासंघले संघीय संसदको समानुपातिक उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।
यस्तै, नेकोसले रामकृष्ण खड्कालाई नुवाकोट क्षेत्र नम्बर दुई र ओखलढुङ्ग क्षेत्र नम्बर एकबाट समानुपातिक उम्मेदवारको रूपमा सिफारिस गरेको छ । नेकोसले कुँवरसहित तीनजनालाई सिफारिस गर्दै समग्र खेल क्षेत्र, खेलाडी तथा युवा आन्दोलनको समेत उपस्थिति देखिने हुँदा सोहीबमोजिम सिफारिस गरिएको उल्लेख गरेको छ ।
सुदूरपश्चिम प्रदेशबाट राखेप बोर्ड सदस्यको रूपमा नियुक्त भएका कुँवरलाई राखेपले कार्यकारी सदस्यको रूपमा चयन गरेको थियो । पर्वतीय खेलकुद महासंघका उपाध्यक्ष समेत रहेका कुँवर नेपाल भलिबल संघको बिच कमिसनका संयोजकसमेत हुन् ।
Facebook Comment
Comment