काठमाडौं। एसिया कप क्रिकेट अन्तर्गत सुपर चारमा आज आइतबार भारत र पाकिस्तान खेल्दैछन् । खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय किक्रेट मैदानमा सुरु हुनेछ ।
पाकिस्तान भारतसँग समूह चरणमा पराजित भएको बदला लिने दाउमा छ । भारत भने पाकिस्तानलाई लगातार दुई खेलमा हराएर आफूलाई थप अब्बल सावित गर्न चाहन्छ ।
तर तीव्र गतिका बलर शाहनवाज दहनीले भारतसँगको खेल गुमाउने भएपछि पाकिस्तान तनावमा छ । समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध बलिङ गर्ने क्रममा घाइते भएका दहनी मैदान बाहिर भएका छन् ।पाकिस्तानका एकपछि अर्को खेलाडी घाइते हुँदा समस्या बढेको छ । एसिया कप सुरु हुनु अघि नै शाहीन अफ्रिदी र मोहम्मद वासिमलाई पाकिस्तानले गुमाइसकेको छ । अब भारतसँगको खेलमा पाकिस्तानले मोहम्मद हसनैन वा अनुभवी हसन अलीलाई फर्काउन सक्ने आईसीसीले जनाएको छ ।
प्रतियोगितामा ६ देश सहभागी रहेकोमा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट अफगानिस्तान र श्रीलङ्का सुपर चारमा पुगेका हुन् । समूह चरणमा भारतले पाकिस्तान र हङकङलाई हराउँदै दुई जितका साथ समूह ‘ए’ को शीर्ष स्थानमा रहेर सुपर चारमा स्थान बनाएको थियो भने पाकिस्तानले हङकङलाई हराएको थियो । त्यस्तै समूह ‘बी’ मा अफगानिस्तान शीर्ष र श्रीलङ्का दोस्रो स्थानमा रहँदै सुपर चारमा पुगेका हुन् ।
बङ्गलादेश र हङकङ समूह चरणबाटै बाहिरिएका थिए । शनिबार राती भएको सुपर चारको पहिलो खेलमा श्रीलङ्काले अफगानिस्तानलाई हराएर फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । सुपर चारमा चार टोलीबीच एकअर्कामा प्रतिस्पर्धा हुनेछ । शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।
Facebook Comment
Comment