काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्यहरूको सम्पत्ति विवरण माग गरेको छ । पार्टी केन्द्रीय कार्यालयले सदस्यहरूलाई पत्राचार नै गरेर एक साताभित्र सम्पत्ति विवरण पठाउन सूचित गरेको हो ।
‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५३ को प्रयोजनको लागि पार्टी केन्द्रीय सदस्यहरूले आफ्नो चल अचल सम्पत्तिको विवरण पार्टी केन्द्रीय कार्यालयमा खाम बन्दी गरी हप्ता दिन पठाइदिनुहुन निर्देशनअनुसार अनुरोध छ’, केन्द्रीय कार्यालयले भनेको छ।
सम्पत्ति विवरणमा केन्द्रीय सदस्यको सम्पूर्ण विवरणसहित घर तथा जग्गा धनीको नाम कित्ता नम्बर, वर्गमिटर, प्राप्तिको स्रोत, खरिद गरेको भए खरिद मूल्य खुलाउन भनिएको छ । यस्तै, नगद, सुन, चाँदी, हिरा, जवाहरातको परिणाम प्राप्त मिति र स्रोत पनि खुलाउन आग्रह गरिएको छ ।
यस्तै, बैंक खाताको विवरण, धितोपत्र, शेयर वा ऋणपत्रको विवरण, ऋण लेनदेनको अवस्था लगायतको विवरण खुलाउन भनिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । माओवादीको हालै सम्पन्न स्थायी समिति बैठकले नेताहरुको सम्पत्ति विवरण माग गर्ने निर्णय गरेको थियो ।
Facebook Comment
Comment