बजेट प्रकरण

सहमति नभए बहुमतका आधारमा छानबिन समितिले आज निष्कर्ष लेख्ने

नेपालभ्युज

सहमति नभए बहुमतका आधारमा छानबिन समितिले आज निष्कर्ष लेख्ने

काठमाडौं। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरेको संसदीय विशेष समितिको आजको बैठकमा निष्कर्ष लेख्ने जनाइएको छ। समितिमा आबद्ध सदस्यहरुबीचमा सहमति नभए बहुमतका आधारमा भए पनि आज प्रतिवेदन तयार पार्ने बताइएको छ।

बुधबारको बैठकमा प्रतिवेदनको मस्यौदा पढिरहेका सचिव सुरेन्द्र अर्याल निष्कर्ष खण्डमा पुग्दा एमाले सांसदहरूले असहमति जनाए। करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताबारे यथेष्ट प्रमाण नभेटिएको भन्ने भाव भेटिएपछि एमालेका सांसदहरूले असहमति जाहेर गरेका थिए।

त्यसपछि सचिव अर्यालले निष्कर्षमा के लेख्ने भन्ने बरेमा थप छलफल गर्ने प्रस्ताव राखेका थिए।

नेताहरूका अनुसार करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति अर्थ मन्त्रालय प्रवेश गरेको प्रमाण नभेटिएको भन्नेमा सबै सहमत छन्। तर, एमाले भने प्रमाण नभेटिनुको कारण र पृष्ठभूमि लेख्नुपर्ने अडानमा छ। अर्थ मन्त्रालयले नै असहयोग गरेका कारण प्रमाण नभेटिएको एमाले सांसदहरूको तर्क छ। तर, यसमा सत्तारुढ दलहरू तयार नहुँदा निष्कर्ष लेख्न विवाद भएको हो।

तत्कालीन मन्त्री शर्मा र अनधिकृत व्यक्ति बजेटमा करको दर निर्धारण गर्ने दिन कहाँ थिए ? उनीहरूबीच कति पटक भेट भयो? अनि के–के कुराकानी भयो? यो समग्र अध्ययनका लागि कल डिटेल, लोकेसन ट्रयाक हेर्ने विषयमा एमालेका सांसदले कुरा उठाएका छन्।

तर, यस विषयमा सत्तारुढ दलबाट प्रतिनिधित्व गर्ने समितिका सदस्य प्रवेश गर्न चाहेनन्। सत्तारुढ दलका छानबिन समितिकै सदस्यहरू शर्माको कल डिटेल र लोकेसन ट्रयाकिङ गर्नुपर्ने विषयमा झस्किएपछि एमालेले असन्तुष्टि जनाएको हो।

आज साढे १२ बजे बस्ने औपचारिक बैठकमा निष्कर्षमा अन्तिम रस्साकस्सी हुनेछ।
तीन महिनासम्म सीसीटीभी फुटेज डिलिट गर्न नपाइने कानुन हुँदाहुँदै १३ र १६ दिनमा डिलिट हुनु सम्बन्धित कार्यालयको कमजोरीका सन्दर्भमा प्रश्न उठाएर त्यसलाई सच्याउनुपर्ने निष्कर्ष लेख्न सकिने सत्तारुढ दलहरूको प्रस्ताव छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved