काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकबाटै प्रधानमन्त्रीपत्नी आरजु देउवालाई व्यङ्ग्य गरेका छन्। निर्वाचनअघि डडेलधुराको अमरगढीमा आयोजित चुनावीसभामा आरजुले कांग्रेसले नजितेका ठाउँमा बजेट नपठाउने भनी गरेको टिप्पणीमाथि ओलीले व्यङ्ग्य गरेका हुन्।
ओलीले सत्ता गठबन्धनले पैसा र प्रलोभन बाँडेर, त्रास र धम्की दिएर चुनावमा धाँधली गरेको आरोप लगाउँदै प्रधानमन्त्रीपत्नी आरजुले दिएको टिप्पणीमाथि समेत घोचपेच गरेका थिए।
‘‘गठबन्धनले पैसा बाँड्यो। प्रलोभन बाँडियो। त्रास र धम्की दिइयो। कतिपय ठाउँमा रूखमा भोट नहाले बजेट नपठाउने धम्की पनि दियो,” ओलीले भने, ‘‘संयोगकै कुरा हो डडेल्धुरामा मेडिकल कलेज जाने भएछ। अमरगढी जित्या छ कि छैन ? अमरगढी जितेको भए त ठिकै छ। नत्र कुन कुनामा लगेर राख्नुपर्ने हो जित्या छैन भने! सम्माननीय प्रधानमन्त्रीको आफ्नै वडामा केही जाने भएन किन भने रुखले जितेन कि क्या हो?”
ओलीले व्यङ्ग्य गरिरहँदा संसद्मा रमाइलो दृश्य देख्न सकिन्थ्यो। ‘‘अमरगढी जित्या छ कि छैन?” भनेर ओलीले व्यङ्ग्य गर्दा यता देउवा मुस्कुराउँदै जवाफ दिइरहेको देखियो, ‘‘जित्यो जित्यो।”
स्थानीय निर्वाचनमा आरजुले बजेट नपठाउने धम्की दिए पनि देउवाकै गाउँ गन्यापधुरा गाउँपालिका–१ कांग्रेस पराजित भए पनि अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको थियो।
Facebook Comment
Comment