हेटौंडा। मकवानपुर जिल्लामा मतदान सकिएको छ। बिहान सात बजे शुरु भएको दश वटै पालिकाको मतदान सकिएको हो।
मतदान सकिए लगतै मतपेटिका संकलन कार्य शुरु भएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। मकवानपुरमा करिब ७० प्रतिशत मत खसेको श्रेष्ठले बताए।
हेटौंडा उपमहानगरपालिकाको मतपेटिका संकलन भइरहेको र पानी परेका कारण केही ढिलाइ भएकाले सर्वदलीय बैठकमा सहमति जुटेमा मत गणना भोलीबाट मात्रै हुने श्रेष्ठको भनाइ छ।
यद्यपि सर्वदलीय बैठकको निर्णयअनुसार आज नै मतगणना शुरु हुन पनि सक्ने उनले बताए।
“जिल्लामा मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। कुनै पनि अप्रिय घटना भएन”, मुख्य निर्वाचन अधिकृत श्रेष्ठले भने, “सर्वदलीय बैठक बसेर मत गणनाको विषयको निष्कर्षमा पुग्नेछौं।”
मकवानपुरमा स्थानीय तह निर्वाचनका लागि ३ हजार २ सय जना सुरक्षाकर्मी परिचालन भएको थियो।
निर्वाचन सुरक्षाका लागि १ हजार ४ सय ७३ जना म्यादी प्रहरी, ५ सय जना नेपाली सेना, ४ सय सशस्त्र प्रहरी र ९ सय जना नेपाल प्रहरी खटाइएको थियो। मतदान केन्द्र भित्रको सुरक्षाका लागि प्रहरी र बाहिरकोे लागि सेना खटाइएको थियो।
जिल्लामा रहेका १६५ वटा निर्वाचन स्थलमध्ये १९ वटा मतदान स्थल अतिसंवेदनशील, ६० वटा संवेदनशील र ८६ वटा सामान्यमा वर्गीकरण गरिएको थियो। यस्तै निर्वाचनका लागि जिल्लामा मतदान अधिकृतसहित करिब एकहजार ८ सय कर्मचारी खटिएका थिए।
Facebook Comment
Comment