काठमाडौं। चितवनका नेपाली कांग्रेस जिल्ला सभापति राजेश्वरखनाल प्रहरी नियन्त्रणबाट रिहा भएका छन्। निर्वाचन आचारसंहिता विपरीतको काम गरेको आरोपमा पक्राउ गरेको खनाललाई जिल्ला प्रहरी कार्यालय भरतपुरले रिहा गरेको हो। खनाल सहित पक्राउ गरेका नेकपा माओवादी केन्द्रका स्थानीय नेता पनि प्रहरी नियन्त्रण मुक्त भएका छन्।
भरतपुर वडा नम्बर १३ मा हिजो राती पैसा बाँड्दै गरेको अवस्थामा खनालसहितका नेतालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि गितानगर प्रहरी कार्यालयमा राखिएको उनी सहितका नेतालाई शुक्रबार (आज) बिहान भरतपुरस्थित जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो। जिल्ला प्रहरी कार्यालयमा लगिएका उनलाई विना कारबाही प्रहरीले रिहा गरेको हो। नेकपा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला नेता देवी ज्ञवालीले खनालसहितका व्यक्तिलाई प्रहरीले रिहा गरेको जानकारी दिएका छन्।
“निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा उहाँहरूलाई जनताले पक्राउ गरेका थिए,” ज्ञवालीले भने, “हिजो राती गितानगर प्रहरी कार्यालयमा राखिएको थियो, बिहान जिल्ला प्रहरी कार्यालय भरतपुर लगिएको थियो, अहिले उहाँहरू विना कारबाही रिहा हुनुभएको छ।”
चितवन जिल्ला सभापति खनाल भने आफू पैसा सहित पक्राउ परेको भन्ने झुट भएको बताए। नेपालभ्यूजसँग कुरा गर्दै खनालले हिजो राती आफू भरतपुर १३ गंगानगर गएको स्वीकार गर्दै आफू त्यहाँ जाँदा नेकपा एमालेका साथीको ठूलो भिड जम्मा भएको दाबी गरे।
“मेरो एमाले साथीहरूसँग जम्काभेट भएको थियो, भाग्ने कुरा भएन, तर मैले पैसा बाढेको असत्य हो” गंगानगरमा एमाले कार्यकर्तासँग बहस भएपछि गितानगर प्रहरीले आफूलाई त्यहाँबाट लगेको उनले बताए।
Facebook Comment
Comment