श्रीलंकाको संकटसँग जोडिएको राजपक्ष परिवारको कथा

लामो समय सत्तामा रहेको राजपक्ष परिवारले देशलाई भन्दा आफ्नो पारिवारिक हितका लागि देशको अर्थतन्त्र प्रयोग गरेका कारण श्रीलंकामा आर्थिक संकट उत्पन्न भएको आरोपसहित त्यहाँका मानिस राजपक्ष परिवारकै विरुद्ध अहिले प्रर्दशनमा उत्रिएका हुन्।

नेपालभ्युज

श्रीलंकाको संकटसँग जोडिएको राजपक्ष परिवारको कथा

काठमाडौं। देशमा आर्थिक संकट बढेर दोस्रो पटक संकटकाल लगाएपछि श्रीलंकामा पुनः हिंसाका घटना बढेसँगै प्रधानमन्त्री महिन्दा राजपक्षले पदबाट राजीनामा दिए। प्रधानमन्त्री राजपक्षले पदबाट राजीनामा दिए पनि श्रीलंकाका सडक प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीले राष्ट्रपति गोटाबय राजपक्षको पनि राजीनामा माग गरेका छन्।

प्रर्दशनका क्रममा सार्वजनिक र सरकारी सम्पत्तिको क्षति हुन लागेपछि मंगलबार श्रीलंका सरकारले प्रर्दशनमा संलग्न र सार्वजनिक सम्पत्तिको विनाश गर्ने व्यक्तिलाई ‘सुट एट साइट’ को अडर सुरक्षा फौजलाई दिएको छ। श्रीलंकाका रक्षा मन्त्रालयका प्रवक्ता नलिन हेरार्थले सुरक्षा फौजलाई यस्तो निर्देशन दिएको बताएका छन्।

मंगलबार राजपक्ष परिवार नजिक रहेका व्यक्तिहरु देश बाहिर जान लागेपछि प्रर्दशनकारीले बन्दरानायके विमानस्थल जाने बाटोमा रहेका सार्वजनिक र सरकारी सम्पत्तिमाथि आगो लगाएका थिए। देशमा बढ्दै गएको आर्थिक संकटसँग राजपक्ष परिवारप्रति श्रीलंकाका मानिसले रोष प्रकट गर्न थालेका छन्। प्रर्दशनकारीले दशकौँसम्म देशको अर्थतन्त्र बिग्रिदा पनि राजपक्ष परिवारले आफ्नो सुविधा मात्रै हेरेको भन्दै परिवारप्रति नै रोष प्रकट गरेका हुन्।

प्रधानमन्त्रीबाट राजीनामा दिएसँग महिन्दा राजपक्ष र उनको परिवारले राजधानी कोलम्बो छोडेका छन्। राजधानी छोडेर उनको परिवार सुरक्षित स्थानको खोजीमा त्रिकोम्लेस्थित श्रीलंकाको उत्तर पूर्वमा रहेको नैसेनाको बेसक्याम्पमा बसेका थिए। महिन्दाको परिवार नैसेनाको बेसक्याम्पमा बसेरको थाहा पाएसँग प्रर्दशनकारीले नैसेनाको बेसक्याम्पमा पनि हमला गरेका छन्। मंगलबार बिहान प्रर्दशनकारी नैसेनाको बेसक्याम्पभित्र नै प्रवेश गर्ने प्रयास गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

देशमा बढ्दो आर्थिक संकटका विरुद्ध सोमबार शान्तिपूर्ण प्रर्दशन गरेका प्रर्दशनकारीमाथि महिन्दा राजपक्ष समर्थकले सोमबार आक्रमण गरेपछि श्रीलंकामा पछिल्लो हिंसात्मक अवस्था निम्तिएको हो। सोमबारको शान्तिपूर्ण प्रर्दशनमा सहभागीहरुले राजपक्षको राजीनामाको माग गरेका थिए। प्रर्दशनकारीमाथि महिन्दा समर्थित व्यक्तिहरुले आक्रमण गरेपछि प्रर्दशन हिंसात्मक बनेको हो।

आर्थिक संकटका कारण श्रीलंकामा पेट्रोलियम पदार्थदेखि लिएर खाद्यान्नको चरम संकट छ। संकट बढ्दै जाँदा भएको प्रर्दशनलाई रोक्न अप्रिल महीनाको शुरुआतमा पनि त्यहाँको सरकारले संकटकालको घोषणा गरेको थियो। तर, त्यो संकटकाल लामो समय रहेन। प्रर्दशनमा हिंसा फैलिँदा सरकारले फेरि संकटकालको घोषणा गरेको छ। त्यहाँ फैलिएको हिंसाका कारण कम्तिमा आठ व्यक्तिको निधन भएको छ भने करीब २०० व्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

राजपक्ष परिवारले निम्त्याएको संकट

नेतृत्वमा रहेको व्यक्तिले पारिवारिक स्वार्थलाई राष्ट्रभन्दा माथि राख्दा देश कस्तो हुन्छ ? यसको गतिलो उदाहरण हो श्रीलंकामा देखिएको आर्थिक संकट।

सन् १९४८ मा बेलायतको उपनिवेशिक शासनबाट स्वतन्त्र भएको निर्वाचनमा डोन एल्भिन राजपक्ष विजयी भए। उनी निर्वाचनमा विजयी हुनुपछाडि अर्को कथा छ, डोन एल्भिनका भाइ डोन म्याथ्यु राजपक्ष। म्याथ्यु पूर्णकालीन राजनीतिमा थिए। देश स्वतन्त्र हुनुपूर्व भएको राज्य परिषद्को निर्वाचनमा उनी विजयी भएका थिए। त्यो निर्वाचमा एल्भिनले भाइलाई सहयोग गरे पनि उनी भने राजनीतिमा सक्रिय थिएनन्। एक घटनामा सन् १९४५ मा म्याथ्युको निधन भयो। आफ्नो क्षेत्रमा राम्रो पकड भएका म्याथ्युको निधनले कार्यकर्तामा असर गर्‍यो। भाइको राजनीतिक विरासत सम्हाल्न आएका थिए एल्भिन राजपक्ष। यिनै राजपक्षको परिवार आज श्रीलंकाको राजनीतिको केन्द्रमा छ।

डोन एल्भिन श्रीलंकाको राजनीतिमा अघि बढ्दै गर्दा उनी संलग्न युनाइटेड नेशनल पार्टीमा एक साथी थिए, सर सोलोमन डायस अबेविक्रम जयतिल्लेके सेनेविरत्न राजकुमारुना कडुकेरालु बन्दरनायके। बन्दरनायकेलाई श्रीलंकाको पहिलो प्रधानमन्त्रीका रूपमा हेरिएको थियो। तर, राजनीतिक खिचातानीका कारण उनी त्यो दौडबाट केही पर पुगे। दौडमा पछि परे पनि उनको इच्छा भने मरेको थिएन। बन्दरनायके पार्टीको नीतिमा असन्तुष्ट हुन थाल्दै थिए त्यो समयमा।

जुलाई १९५१ मा उनी आफ्ना समर्थकसहित विपक्षीको कुर्सीमा बसे। योसँगै उनले युनाइटेड नेशनल पार्टी परित्याग गरे र नयाँ पार्टीको नाम राखे श्रीलंका फ्रिडम पार्टी। उनलाई डोन एल्भिन राजपक्षले साथ दिएका थिए। सन् १९५६ को निर्वाचनमा सफलता प्राप्त गर्दै पहिलो पार्टी भन्यो। बन्दरनायकेको नेतृत्वमा सरकार सञ्चालन हुँदै थियो। २५ सेप्टेम्बर १९५९ को दिन एक बौद्ध भिक्षुको भेषमा आएका व्यक्तिले गोली हानी उनको हत्या गरे।

सोलोमन बन्दरनायकेको निधनपछि पार्टी अध्यक्षसहित प्रधानमन्त्रीको पद खाली थियो। डोन एल्भिनलाई उक्त पदमा बस्ने अवसर आएको थियो तर अन्तिम घडीमा सोलोमनकी पत्नी श्रीमा रतबत्ते डायस बन्दरनायकेले आफूलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा अगाडि बढाइन्। पार्टी र सरकार दुवैको नेतृत्व श्रीमाको हातमा आयो। उनी विश्वको पहिलो महिला प्रधानमन्त्रीसमेत हुन्।

डोन एल्भिन राजनीतिमा खासै अगाडि बढ्न सकेनन्। सन् १९६५ मा निर्वाचनमा उनी पराजित भए। त्यसको दुई वर्षपछि उनको निधन भयो। एल्भिनका ९ सन्तान थिए। उनकै सन्तान गोटाबया राजपक्ष अहिले त्यहाँका राष्ट्रपति छन् भने उनको अर्का छोरा महिन्दा पटक पटक त्यहाँको राष्ट्रपति भएका व्यक्ति हुन्। पिताको निधनलगत्तै १९७० को दशकबाट महिन्दा राजनीतिमा सक्रिय हुँदा गोटाबय भने सेनामा भर्ती भए।

सन् १९९४ मा श्रीमाले श्रीलंका फ्रिडम पार्टीको नेतृत्व आफ्नो छोरी चन्द्रिका कुमारातुंगालाई दिइन्। १९९४ देखि २००५ सम्म चन्द्रिका देशको राष्ट्रपति रहिन्। चन्द्रिका देशको राष्ट्रपति हुँदा महिन्दा मन्त्रिपरिषद्का विभिन्न भूमिकामा थिए। सन् २००५ मा चन्द्रिकाले राजनीति परित्याग गर्ने घोषणा गरिन्, घोषणा महिन्दाका लागि ठूलो अवसर थियो। महिन्दा भाइ गोटाबयको सहयोगमा निर्वाचित भए। सन् १९९१ मा सेनाको जागिरबाट अवकास प्राप्त गरेपछि गोटाबय अमेरिकामा बस्दै आएका थिए। दाइ महिन्दा राष्ट्रपति हुँदा भाइ गोटाबय रक्षामन्त्री भए।

यो समयमा श्रीलंका गृहयुद्धको चरम अवस्थामा थियो। सन् २००९ सम्म आउँदा त्यो अन्त्य भयो। गृहयुद्धको अन्त्यसँगै युद्धको न्यायिक छानबिनको माग उठेको थियो। त्यसलाई अस्वीकार गरेका राजपक्ष दाजुभाइले राज्यका विभिन्न निकायमा भने परिवारका व्यक्तिलाई नियुक्त गर्दै गए। समय यस्तो पनि थियो- राजपक्ष परिवारका करीब ४० सदस्य सरकारका विभिन्न तहमा थिए। यो परिवारले राष्ट्रिय ढुकुटीलाई परिवारको हितमा खर्च गरेको आरोप छ।

सन् २०१५ मा तेस्रो पटक राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्दै गरेका महिन्दा राजपक्ष परिवारवाद, बढ्दो भष्टचारलगायतको मुद्दाको सामना गर्न नसक्दा पराजित भए। मैत्रीपाल श्रीसेना देशका राष्ट्रपति भए। श्रीसेना महिन्दाको मन्त्रिपरिषद्मा रहेर काम गरेका व्यक्ति थिए, जसले पछि आफ्नो छुट्टै राजनीतिक पार्टीको स्थापना गरे। श्रीसेना सरकारले राजपक्ष परिवारका सदस्यविरुद्ध भष्ट्राचारलगायतमा मुद्दा चलाउने निर्णय गर्दा राजपक्ष परिवारका धेरै सदस्य विदेश भागेका थिए।

निर्वाचनमा पराजित भए पनि राजपक्ष परिवार सत्ताको सुखबाट धेरै समय टाढा रहनु परेन। संवैधानिक संटकका कारण श्रीसेनाले विपक्षी दलका नेता महिन्दालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्‍यो। तर, उनको नियुक्तिलाई अदालतले अवैधानिक ठहर गरेपछि उनले प्रधानमन्त्रीको कुर्सी छोड्नुपर्‍यो।

सन् २०१९ को राष्ट्रपतीय निर्वाचनमा महिन्दा राजपक्ष राष्ट्रपतिमा प्रतिस्पर्धा गर्न पाएनन्। कारण श्रीसेना सरकारले एक व्यक्ति राष्ट्रपतिमा दुई कार्यकालभन्दा बढी हुन नपाउने नियम लगाएको थियो। राजपक्ष परिवारले अर्को बाटो निकाल्यो। गोटाबय राजपक्ष राष्ट्रपतिको उम्मेदवार भए र निर्वाचनमा विजय हासिल गर्दा दाइ महिन्दा देशको प्रधानमन्त्री नियुक्त भए।

यसरी प्रधानमन्त्रीमा नियुक्त भएका महिन्दाले सोमबार मात्रै प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् भने देशमा बढ्दै गएको आर्थिक संकटसँगै राष्ट्रपति गोटाबयको राजीनामा पनि माग्न थालिएको छ। लामो समय सत्तामा रहेको राजपक्ष परिवारले देशलाई भन्दा आफ्नो पारिवारिक हितका लागि देशको अर्थतन्त्र प्रयोग गरेका कारण श्रीलंकामा आर्थिक संकट उत्पन्न भएको आरोपसहित त्यहाँका मानिस राजपक्ष परिवारकै विरुद्ध अहिले प्रर्दशनमा उत्रिएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved