चुनाव प्रचारको लागि तीन दिन मात्र समय बाँकी, शीर्ष नेताको चर्को दौडधुप

स्थानीय तहको निर्वाचनको लागि मौन अवधि शुरु हुन तीन दिन बाँकी रहँदा दलहरूले प्रचारप्रसार तीव्र बनाएका छन्। मंगलबार राति १२ बजेबाट मौन अवधि शुरु हुने हुँदा अब प्रचारको समय तीन दिन २ रात मात्र बाँकी छ। प्रचारको अन्तिम समयमा आइपुग्दा प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ पाँच दलीय गठबन्धन तँछाडमछाड प्रचारमा छन्।

नेपालभ्युज

चुनाव प्रचारको लागि तीन दिन मात्र समय बाँकी, शीर्ष नेताको चर्को दौडधुप

काठमाडौं। स्थानीय तहको निर्वाचनको लागि मौन अवधि शुरु हुन तीन दिन बाँकी रहँदा दलहरूले प्रचारप्रसार तीव्र बनाएका छन्। मंगलबार राति १२ बजेबाट मौन अवधि शुरु हुने हुँदा अब प्रचारको समय तीन दिन २ रात मात्र बाँकी छ। निर्वाचन आयोगले २७ वैशाख राति १२ बजेपछि मौन अवधि शुरू हुने जनाएको छ। मतदान हुनु ४८ घण्टा अगाडि मौन अवधि शुरू हुन्छ।

यसअघि आयोगले निकालेको तालिका अनुसार ११ र १२ वैशाखमा उम्मेदवारी दर्ता भयो।
१३ वैशाखमा उम्मेदवार विरुद्ध उजुरी र १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम थियो। १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएपछि तीव्र भएको प्रचार अहिले उत्कर्षमा छ।

प्रतिपक्षी एमाले र सत्तारुढ गठबन्धन तँछाडमछाडमा

प्रचारको अन्तिम समयमा आइपुग्दा प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ पाँच दलीय गठबन्धन तँछाडमछाड प्रचारमा छन्। अहिले एमाले भर्सेस गठबन्धन चुनावी मैदानमा छ। एमाले अध्यक्ष केपीशर्मा ओली चुनावी सभाहरूलाई सम्बोधन गर्न देश दौडाहामा निस्किएका छन्।

उनले चुनावी सभा थालेको डेढ महिना बढी भैसकेको छ। प्रचारको समय सकिन लाग्दा उनको दौडधुप झनै बढेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल बताउँछन्। ओलीले एकै दिन तीन सभालाई समेत सम्बोधन गरेका छन्।

रिजाल भन्छन्,”एमालेका अन्य सबै शीर्ष नेताहरु आ–आफ्नो निर्वाचन क्षेत्र र पालिकाहरूमा केन्द्रित भएका छन्। अध्यक्ष ओलीलगायत केही शीर्षनेताहरु देशैभरका सभालाई सम्बोधन गरिरहनुभएको छ।”

ओलीले शुक्रबार रौतहटको गौर र चन्द्रनिगाहपुरको सभालाई सम्बोधन गरे। शनिबार मोरङको सुन्दर हरैंचा नगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गरेका उनले आइतबार(आज) पत्रकार भेटघाट कार्यक्रम समेत राखेका छन्।

काठमाडौंमा पत्रकार सम्मेलनलगतै ओली आजै भरतपुरमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न जाने एमालेले जनाएको छ। ओली आज त्यतिमै रोकिँदैनन्, बुटवलको चुनावी सभामा पनि जान्छन्। सोमबार ओली धरानको चुनावी सभामा सहभागी हुने र प्रचारको अन्तिम दिन मंगलबार मोरङको मिक्लाजुङ र आफ्नै गृहजिल्ला झापाको सभामा सहभागी हुने एमालेले जनाएको छ

 सत्तारुढ गठबन्धनको पनि आक्रामक प्रचार

यता प्रतिपक्षी दलका नेता जस्तै सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि चुनावी सभाहरूलाई सम्बोधन गर्ने क्रम तीव्र बनाएका छन्।

गठबन्धनको जित निश्चित गर्ने उद्देश्यले केही दिनअघिबाट मात्रै चुनावी सभा आयोजना गरेको हो। कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले विहीबार भरतपुरमा सम्बोधन गरे। जहाँ गठबन्धनका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पनि थिए। यस्तै शुक्रबार काठमाडौंको सभालाई उनीहरु सबैले सम्बोधन गरे।

यसरी चुनावी प्रचारलाई शनिबार पनि गठबन्धनले निरन्तरता दियो। प्रधानमन्त्री देउवा शनिबार तीन जिल्लाको कार्यक्रममा सहभागी भए। बुटवल, तनहुँ र धनुषामा देउवाले एकै दिन भ्याए। यस्तै आज पनि प्रधानमन्त्री देउवाले एकै दिन पोखरा र दाङको दुईवटा सभालाई सम्बोधन गर्दैछन्। भोलि सोमबार कैलालीको धनगढीमा र प्रचारको अन्तिम दिन मंगलबार देउवाले आफ्नो गृहजिल्ला डडेलधुराको कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved