हेटौंडा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार देशलाई कंगाल बनाउनको लागि जन्मिएको आरोप लगाएका छन्।
नेकपा एमाले मकवानपुरले आइतबार हेटौंडामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले देशको ढुकुटी मात्र रित्याएको आरोप लगाए। नेकपा एमालेको सरकार हुँदा सात ओटा मन्त्रालयले विकास गरिरहेको ठाउँमा अहिलेको सरकार आउनेबित्तिकै १८ वटा मन्त्रालय पुर्याएको उनले आरोप लगाए।
स्थानीय तहको निर्वाचनमा एमालेसंग लड्न आँट नभएका दलहरुले गठबन्धन गरेको भन्दै ५ दल मिलेर पनि पार नलाग्ने बताएका छन्। अहिलेको सरकार र गठबन्धन खान जन्मेको आरोप लगाए।
सरकारले फागुन महिनाभित्रै स्थानीय तहको निर्वाचन गराउनुपर्ने भन्दै उनले गठबन्धन अहिले पनि चुनाव बिथोल्न लागिपरेको उनको आरोप थियो।
“गठबन्धन बाध्यताले चुनावमा सहभागी भएको छ। चुनाव गराउन बाध्य भएको छ। अहिले पनि चुनाव बिथोल्न खोजिरहेको छ”, एमाले अध्यक्ष ओलीले भने, “यदि लायक सरकार हुन्थ्यो भने फागुनभित्रै यो चुनाव सम्पन्न भैसक्नुपर्थ्यो।”
निर्वाचन आयोग कानून र संविधानमा अडिएकोले मात्रै स्थानीय निर्वाचन हुन लागेको उनको भनाइ थियो। सरकारले कमिसनका लागि अहिले चुनावको मुखमा अर्बौंको स्वास्थ्य सामग्री खरिद गरिरहेको आरोप लगाए।
प्रदेश सरकार एमालेको हुँदा विकासको कामले गति लिएको जिकिर गर्दै उनले अहिलेको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए।
कमाउने उद्देश्यका साथ ७ वटा रहेको मन्त्रालय फुटाएर १८ वटा पुर्याइएको उनको दावी थियो। “मन्त्रीको सिक्रीले धेरैलाई बाँधेर राखेकोले त्यही पार्टीमा बसिरहेका छन्। नत्र पार्टी प्रवेश गर्न आइसक्थे”, ओलीले भने।
फरक प्रसंगमा उनले कम्युनिष्ट पार्टीको स्थापना श्रमिक वर्गका हित र उद्देश्य पूरा गर्न भएको दाबी गरे। “नक्कली कम्युनिष्ट पार्टीहरू पनि छन्। फुटेर गएको पार्टीको नाम एकीकृत भन्न थाले। कांग्रेसको पछि लाग्नेको नाम समाजवादी पार्टी रे”, कटाक्ष गर्दै उनले भने, “पतनको नमूना यस्तै हुने रहेछ।”
एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका नेता खिलप्रसाद चौलागाई लगायत नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, नेकपा एस लगायतका पार्टी परित्याग गरी नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका थिए।
कार्यक्रममा एमालेका उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, केन्द्रीय सल्लाहकार समिति सदस्य डोरमणि पौडेल, मकवानपुर ईन्चार्ज रामेश्वर राना, हेटौंडाको मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्ले लगायतले मन्तव्य व्यक्त गरेका थिए।
Facebook Comment
Comment