यौन दुर्व्यवहारको प्रश्नमा स्थापितको अभद्र अभिव्यक्ति : यु आर नाइस लेडी तर थुतुनो ठीक भएन

नेपालभ्युज

यौन दुर्व्यवहारको प्रश्नमा स्थापितको अभद्र अभिव्यक्ति : यु आर नाइस लेडी तर थुतुनो ठीक भएन
फाइल तस्वीर

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले अभद्र अभिव्यक्ति दिएका छन्। बिहीबार नेशनल कलेजले आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रममा विद्यार्थीले स्थापितलाई लागेको ‘मी टु’ आरोपबारेमा प्रश्न गरेका थिए।

उक्त प्रश्नको जवाफमा स्थापितले जंगिदै अभद्र अभिव्यक्ति दिएका हुन्। उनले आफूमाथि आरोप लगाउनेसँग प्रमाण हुनुपर्ने भन्दै जवाफमा भने, ‘‘यु आर नाइस लेडी तर तपाईको थुतुनो ठिक छैन।”

आफूमाथि यौन दुर्व्यवहारको प्रश्न सोझिएपछि स्थापित आफूले दुर्व्यवहार गरेको प्रमाण माग्दै मञ्चबाट उठेर जंगिएका थिए। उनलाई नरिसाउन अन्य व्यक्तिले सुझाव दिए पनि आफू रिसको भाँडो भएकाले नरिसाउन भन्न नमिल्ने बताएका थिए।

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार स्थापितलाई चार वर्षअघि मिटूको आरोप लागेको थियो। ती महिलाले उक्त समयमा १५ वर्षपहिले स्थापितले गरेको यौन प्रस्ताव अस्वीकार गर्दा जागिरसम्म गुमाउनुपरेको भन्दै आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएकी थिइन्।

प्रदेश ३ का तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्रीले स्थापितले उक्त आरोपपछि पदबाट राजीनामा दिनुपरेको थियो। ३० वैशाखमा हुने स्थानीय निर्वाचनका लागि स्थापितलाई एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार उठाएपछि पुन: उक्त आरोपबारे सामाजिक सञ्जालमा चर्चा शुरु भएको थियो।

गत सोमबार उम्मेदवारी दर्ताका क्रममा पनि स्थापितलाई पत्रकारहरूले मिटूको आरोपबारे सोधेका थिए। उक्त प्रश्नमा स्थापितले ‘विवादमा नआउने पनि केशव स्थापित हुन्छ ?‘ भन्दै उक्त आरोपबारे ध्यान दिन नहुने जवाफ दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved