कांग्रेस घोषणापत्र : सुत्केरीलाई पाँच हजार भत्ता

कांग्रेस घोषणापत्र : सुत्केरीलाई पाँच हजार भत्ता

काठमाडौं। नेपाली कांग्रेसले सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी सहायता भत्ता दिने योजना अगाडि सारेको छ। कांग्रेसले यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि जारी गरेको ‘नेपाली कांग्रेसको सङ्कल्प’ नामक घोषणापत्रमा मातृशिशु स्वास्थ्य र पोषणअन्तर्गत उक्त योजना अगाडि सारेको हो।

कांग्रेसले प्रसूति सेवाको अभावमा आमाको मृत्यु हुने अवस्थाको अन्त्यका लागि प्रत्येक वडामा प्रसूति केन्द्र सञ्चालन, निश्चित टोल समेटेर ‘समुदायमा नर्स कार्यक्रम’ सञ्चालन, गर्भवतीलाई गर्भवती पोषणको प्याकेजको व्यवस्था, सबै महिलालाई निःशुल्क स्यानीटरी प्याडको व्यवस्था, सबै वडामा सुनौलो हजार दिन कार्यक्रम प्रभावकारी बनाउने बताएको छ।

यस्तै, ६० वर्ष माथिका नागरिक, गर्भवती, दीर्घरोग भएका, अपाङ्गता भएका र स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसकेका व्यक्तिलाई घरमै स्वास्थ्यसेवा प्रदान, नसर्ने रोगको बढ्दो चापलाई न्यून गर्न ४० वर्ष माथिका हरेक नागरिकलाई उच्च रक्तचाप, मुटुरोग, मधुमेह, मिर्गौला रोग, श्वासप्रश्वाससम्बन्धी रोग, महिलाको पाठेघरको मुखको क्यान्सरलगायतका रोगको नियमित चेकजाँचको व्यवस्था वर्षमा एकवर्ष गर्ने व्यवस्था मिलाउने घोषणापत्रमा उल्लेख छ।

यसैगरी, तीन वर्षभित्र सबै विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम व्यवस्थित गर्ने, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्ने, आयुर्वेद पद्दतिमार्फत उपचारको व्यवस्था गर्न ‘नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन गर्ने, स्वस्थ्य आहारविहार पोषण, व्यायमलगायत स्वस्थ्य जीवनशैली अवलम्बन गर्न मेरो स्वास्थ्य : म स्वस्थ्य मेरो गाउँ–नगर स्वस्थ्य अभियान सञ्चालन गर्ने, स्वस्थ्य जीवनका लागि एक वडा एक पार्कको अभियान सञ्चालन गर्ने कांग्रेसको सङ्कल्प पत्रमा उल्लेख छ।

कांग्रेसले गाउँ नगरमा सस्तो दरमा औषधि उपलब्ध गराउन गाउँ–नगर फार्मेसी सञ्जालको सञ्चालन, एम्बुलेन्स सेवालाई एकीकृत, सुलभ र सहज रुपमा सञ्चालन गर्न एम्बुलेन्स सञ्जाल, हरेक स्थानीय तहमा सुविधा सम्पन्न दमकल र एम्बुलेन्स सेवा, एक वर्षभित्र स्थानीय तहको स्वास्थ्य प्रणालीको लागि आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण गरी व्यवस्था गर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठान विशेषज्ञ अस्पताल र मेडिकल कलेजसँगको सहकार्यमा दुर्गम क्षेत्रका स्थानीय तहमा आधारभूत अस्पतालमा विशेषज्ञ सेवा प्रदान गर्ने भएको छ।

यस्तै, मानसिक स्वास्थ्यको रोकथाम र उपचारका लागि आधारभूत स्वास्थ्य केन्द्र, जनता स्वास्थ्य केन्द्र र अस्पतालबाट परामर्श र सेवा प्रदान, गाउँ नगरपालिकामा न्यूनतम एक पुनःस्थापना केन्द्रको स्थापना, अस्पताल र विद्यालयको निश्चित क्षेत्रमा मदिरा र सुर्तीजन्य वस्तुको बिक्रीवितरणमा निषेध गर्ने घोषणा गरेको छ।

उक्त घोषणापत्रमा कांग्रेसले स्थानीय तहले विनियोजन गर्ने स्रोतबाट स्वास्थ्य क्षेत्रको बजेटलाई कम्तीमा १० प्रतिशत पुर्‍याउने, स्थानीय स्वास्थ्य प्रोफाइल निर्माण गरी सबै नीतिमा स्वास्थ्यलाई समावेश गर्ने, सबै नागरिकलाई पाँच वर्षभित्र स्वास्थ्य बीमा गर्ने उल्लेख गरेको छ।

यस्तै, टेलिमेडिसिन सेवा, नियमित स्वास्थ्यपरीक्षण गर्न वडामै प्रयोगशाला स्थापना गर्ने नीतिसमेत घोषणापत्रमार्फत कांग्रेसले अगाडि सारेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved