काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि जारी गरेको घोषणापत्रप्रति दिएको अभिव्यक्तिलाई लिएर कांग्रेका नेताहरूको टिप्पणी आउन थालेको छ।
आज दिउँसो पार्टीका प्रवक्ता तथा कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजकसमेत रहेका डा.प्रकाशशरण महतले ओलीको उक्त अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका थिए। उनले ओलीको उक्त भनाइ खेदजनक र सामान्य अवस्थामा पनि बोल्न नहुने बताएका थिए।
लगत्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि आफ्नो पार्टीको घोषणापत्रबारे ओलीलाई जवाफ दिएका छन्। उनले नेपाली कांग्रेसले जमिनमा टेकेर गर्न सकिन काममात्र घोषणापत्रमा राखेको भन्दै कांग्रेस उडन्ते नभएको टिप्पणी गरे। उनले एमालेले जस्तो हावादारी घोषणापत्र तयार गर्न नसकिएको पनि टिप्पणी गरे।
मंगलबार सामाजिक सञ्जालमा शर्माले लेखेका छन् , ‘जिम्मेवार सपना त्यो होइन जो उडन्ते गफजस्तो हावामा उडिरहन्छ, सपना त्यो हो जो जिम्मेवार ढंगले धरातलमा उभिन्छ, जमिनमा टेकेर गर्न सकिने कामहरू मात्रै उल्लेख कांग्रेसको घोषणापत्र श्रद्धेय केपी शर्मा ओलीलाई मन परेन ठिकै छ। तर कम्तीमा विषयको बहसमा आउन चाहेकोमा धन्यवाद छ उहाँलाई।
महामन्त्री शर्माले मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउन खोजेको भन्दै ओलीप्रति कटाक्ष गरे। साथै उनले एमालेले ल्याएको घोषणापत्र र ओलीको अभिव्यक्ति उडन्ते सपनाहरूको गफको पुलिन्दा मात्र भएको जनाए।
मंगलबार (आज) ओलीले कांग्रेसको घोषणा पत्रलाई ‘पागलहरूको प्रलाप’ टिप्पणी गरेका थिए।
ओलीको भाषण समावेश भएको एक पत्रिकाको कटिङ नै ट्वीटरमा राखेका शर्माले लेखेका छन्, ‘चुनावी मैदानमा घोषणापत्रदेखि उम्मेदवारको चरीत्र सम्मको चिरफार गरौं खरा प्रश्न गर्न जनतालाई अपील गरौं, जिम्मेवार ढंगले जवाफ पेश गरौं l तर मर्यादा भन्दा तल गालिमा नझरौं !
उनले ओलीप्रति लक्षित गर्दै ´सानोदेखि लागेको बानी´ भनेर निर्वाचन आचारसंहिताले उच्चतहलाईपनि घृणास्पद अभिव्यक्तिको छुट दिँदैन, चेतना भया ! लेखेका छन्।
Facebook Comment
Comment