महोत्तरी। वैशाख पहिलो साताभित्रै भएको वर्षाले अचाक्ली बढेको गर्मीबाट राहत मिलेको छ। मङ्गलबार राति मेघगर्जनसहित केही बेर परेको पानीले महोत्तरीमा गर्मीबाट राहत मिलेको हो।
गए रातिको वर्षाले बाँझो जग्गा खनजोत गर्न सहज भएको किसानले बताएका छन्। चैतेबाली थन्क्याएपछि रुखिएको जग्गा खनजोत हुन सकेको थिएन। वर्षा भएपछि अब बर्खे मकै, कोदो लगाउन र बर्खे धानको धुले ब्याड राख्न मिल्ने बर्दिबास–७ मनहरिपुरका विन्देश्वर यादवले बताए।
“राम्ररी चिस्यान हुने गरी पानी परेको छ”, उनले भने, “यसपालि बर्खेबाली समयमै लगाउन पाइने आश जाग्यो।” पछिल्लो वर्षाले तरकारी खेती गर्न सहज भएको किसानको भनाइ छ। वर्षाअघि केहीबेर चलेको हावाहुरीले कलिला बोट र तरकारीका बेला (लहरा) लतारेर केही नोक्सान गरेको किसानले बताएका छन्।
हावाहुरीले आँप, लिचीसहितका फलका चिचिला सोतर पारेर झारेको भङ्गाहा–४ पलारका चौठी सर्दार बाँतरले बताए। अन्य बालीनालीमा परेको अनुकूलतालाई उपयोग गर्दै चित्त बुझाउनुपर्ने बाँतर बताए। वर्षापछि किसानलाई राहत मिलेको छ।
Facebook Comment
Comment