मधेश प्रदेशमा आजदेखि सातौँ कृषि गणना शुरू

नेपालभ्युज

मधेश प्रदेशमा आजदेखि सातौँ कृषि गणना शुरू

जनकपुरधाम। धनुषासहित मधेश प्रदेशका जिल्लाहरुमा आजदेखि सातौँ कृषि गणना शुरु भएको छ। कृषक परिवारको विवरणसँगै कृषि कर्मका हरेक विषय समेट्ने गरी सुरु भएको कृषि गणना आगामी जेठ १९ सम्म चल्नेछ।

कृषि गणनाका लागि धनुषामा ३४ सुपरीवेक्षक तथा १३३ गणक गरी १६७ जना कर्मचारी परिचालन गरिएको मधेश प्रदेश कृषि गणना कार्यालय धनुषाका प्रमुख विमलकुमार यादवले जानकारी दिए।

तथ्यांक विभागले निर्धारण गरेको धनुषाको १८ वटै पालिकाका ३७९ गणक क्षेत्रमा कृषि गणना गरिने प्रमुख यादवले बताए। कृषि क्षेत्रको वास्तविक तथ्यांक सङ्कलन गर्दै यसको आधुनिकीकरण एवं व्यावसायीकरणलाई समेत जोड दिने सरकारको लक्ष्यअनुरूप २०७८ चैत २५ देखि वैशाख २ गतेसम्म तथ्यांक सङ्कलन गरिएको थियो।

गणनाअन्तर्गत कृषक परिवारले चलन गरेको जग्गाको उपभोक्ता र उपयोग, कित्ताको वितरण, सिँचाइ गरेको क्षेत्रफल, अन्नबाली, कोसेबाली, दलहन र कन्दमूल, तेल, नगदे, मसला बाली, फलफूललगायतले ओगटेको क्षेत्रफल तथा प्रमुख बालीको उत्पादन, बीउबिजन, विषादी र मलखादको प्रयोग सम्बन्धमा तथ्यांक लिइने छ।

कृषि गणनाबाट प्राप्त तथ्यांकको प्रयोगले सरकारले परिकल्पना गरेको कृषि क्षेत्रको विकास एवं समृद्धिका लागि मद्दत पुग्ने विश्वासका साथ परिवार र समुदायमा आधारित कृषि कार्यमा काम अतिरिक्त सरकारी, अर्धसरकारी, सहकारी र संस्थागत रूपले सञ्चालन गरेका व्यावसायिक कृषि कार्यको पनि तथ्यांक सङ्कलन गरिने प्रमुख यादवको भनाइ छ।

आठ धुर क्षेत्रलफल बाली लगाएको भएमा वा जुनसुकै उमेरका कम्तीमा एउटा गाई, भैँसीजस्ता ठूला चौपाया पालेको भएमा तथा पाँचवटा भेडाबाख्राजस्ता साना चौपाया पालेको भएमा एवं माउ चल्ला गरी कम्तीमा २० वटासम्म पाल्तु पन्छी पालेको भएमा गणनामा समेटिने भएको प्रमुख यादवले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved