काठमाडौं। प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे बस्ने झापा बिर्तामोड नगरपालिका-९ ठेगाना भएका २२ वर्षीय अनुप मिश्र, काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने काभ्रेपलाञ्चोक पनौति नगरपालिका-१ ठेगाना भएका २४ वर्षीय दिपेश थापा र काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने २७ वर्षीय राहुल चचान रहेका छन्।
राष्ट्र बैंकले बैंक तथा वित्तीय कारोबार गर्न जारी गरेको नियम विनिमय, निर्देशन, आदेशविपरीत उपत्यकामा केही व्यक्ति क्रिप्टोकरेन्सीको कारोबारमा सक्रिय रहेको भन्ने सूचनाका आधारमा उक्त कार्यालयबाट खटिएको प्रहरीले नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीहरू बिटक्वाइनलगायतका विभिन्न करेन्सीको अवैध कारोबारमा सक्रिय उनीहरूलाई आइतबार र सोमबार काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकीबाट विद्युतीय उपकरणसहित समातेको हो।
प्रारम्भिक अनुसन्धान क्रममा उनीहरूले हालसम्म जम्मा ६६ करोड ७९ लाख ७९ हजार ९ सय ८३ रुपैयाँ रकम बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको खुल्न आएको छ। उनीहरूउपर बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन,२०७३ बमोजिम आवश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ।
Facebook Comment
Comment