काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले सुपारी आयातलाई व्यवस्थित गर्न सरकारले कच्चा पदार्थ आवश्यक उद्योगलाई नै आयात गर्न दिने नीति लिएको दाबी गरेका छन्।
शुक्रबार संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरोकारवालासँग गरिएको छलफलमा उद्योगमन्त्री बडुले केही व्यापारीहरूलाई सुपारी आयातमा अनुमति दिँदा समस्या आएकाले आयातलाई व्यवस्थित गर्न सरकारले कच्चा पदार्थ आवश्यक उद्योगलाई नै आयात गर्न दिने नीति लिएको बताए।
उनले अघिल्लो सरकारले परिणामलाई समेत खाल नगरी केही व्यापारीहरूलाई सुपारी आयात गर्न दिएकाले अहिले समस्या आएको आरोपसमेत लगाए। मन्त्री बडुले विगतमा कही व्यापारीले सुपारी आयात गर्ने तर नेपालमा केही प्रतिशत देखाउने तर बाँकी परिणाम अन्य देशमा निर्यात गर्नाले सुपारी आयातमा समस्या रहेको बताए।
सुपारी चाहिने गुट्खा उद्योगहरूलाई चाहिने भएकाले त्यही उद्योगीहरूलाई आयात गर्न दिँदा समस्या समाधान हुने भएकाले सरकारले लिएको नीति सही रहेको मन्त्री बडुको तर्क थियो।
उनले सुपारी आयात गर्न नदिएर उद्योगहरूलाई बन्द गर्नु भन्दा पनि कच्चा पदार्थको आपूर्तिलाई सहज बनाएर आयातलाई व्यवस्थित गर्न उद्योगहरूको मागका आधारमा सरकार सुपारी आयात गर्न दिन तयार रहेको बताए। मन्त्री बडुले सुपारी आयात गर्दा व्यापारीहरूको मागको आधारमा साना देखि ठूला उद्योगले समेत सुपारी पाउनु पर्ने भएकाले सुपारी आयात रोक्ने उद्देश्य नभएको बताए।
Facebook Comment
Comment