सुर्खेत। राजस्व चुहावट गरको आरोपमा मोहन्याल गाउँपालिका कैलालीका जनप्रतिनिधिहरू र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
गाउँपालिकाका स्वर्गीय अध्यक्ष नवलसिंह रावलसहित उपाध्यक्ष पूजादेवी बुढामगर, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीसमेत १४ जना र एक कम्पनीविरुद्ध राजस्व चुहावट गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोप अख्तियारको छ।
मोहन्याल गाउँपालिका, कैलाली भएर बग्ने पथ्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको बिक्रीकर संकलनसम्बन्धी सूचनाको आधारमा बोलपत्र बिक्री भएकोमा मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू बडिमालिका निर्माण सेवाका ठेकेदारबीच मिलेमतोमा सम्झौता भई भ्रष्टाचार भएको अख्तियारको आरोपत्रमा उल्लेख छ।
अख्तियारले आरोपपत्रमा उल्लेख गरेका वडाध्यक्षहरू वडा नं २ का देवीदत्त उपाध्याय, वडा नं १ का नवीन पुन मगर, वडा नं ७ का खरप्रसाद अधिकारी, वडा नं ५ का छविलाल हौजाली मगर, वडा नं ४ का टेक बहादुर बोगटी, वडा नं ६ का टीकाराम भण्डारी, वडा नं ३ का नन्दराम गिरी छन्।
त्यस्तै गाउँकार्यपालिका सदस्यहरू राधिका दमाई, तारा शर्मा र विशाल कुमार पहराईसमेतले गाउँकार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिवृद्ध कर बापतको रकम (५४ लाख १८ हजार ५६८ रुपैयाँ ९ पैसा) भ्रष्टाचार गरेको आयोगको ठहर छ।
उनीहरूसँग ५४ लाख ,१८,५६८ रुपैयाँ ९ पैसा बिगो माग्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा १ को देहाय (ज) बमोजिमको सजाय पनि माग गरिएको छ।
त्यस्तै हानिनोक्सानी भएको राजस्व रकमको सोही ऐनको दफा ७ बमोजिम दोब्बर जरिवाना र सोही ऐनको दफा १७ बमोजिम निजहरूबाट बिगो असुलउपर गरी गाउँपालिकालाई भराई पाउनसमेत अख्तियारले मागदाबी गरेको छ।
साथै घरेलु तथा साना उद्योग कार्यालय धनगढी कैलालीमा दर्ता भएको न्यू वडिमालिका निर्माण सेवा र सोका प्रोप्राइटर मकर बहादुर शाहसमेतले पहिलो किस्ताबापतको कबोल अंक रकम शर्तबमोजिम सम्झौताका बखत जम्मा नगरी सम्झौता गरेको, प्रमाणित राजस्व रसिद प्रयोग नगरी नदीजन्य पदार्थ संकलन गरेको र मिनाहाको माग गरी गाउँकार्यपालिकाबाट निर्णयसमेत गराई मिनाहा गराएको रकम, सोबापतको भ्याट रकम र गाउँपालिकामा पहिलो किस्ता मानी ढिलो गरी बुझाएको रोयल्टीबापतको रकम, आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने भ्याटमध्ये नबुझाएको रकम गरी जम्मा ५६ लाख ३ सय ४८ रुपैयाँ ६१ पैसा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अख्तियारको आरोप छ।
उनले पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको हुँदा ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजायको माग अख्तियारले गरेको छ।
मोहन्याल गाउँपालिका कैलालीका अध्यक्ष स्वर्गीय नवल सिंह रावलसमेतले गाउँकार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकेदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिवृद्धि करबापत रकम गरी जम्मा ५४ लाख १८ हजार ५६८ रुपैयाँ ९ पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियारले आरोपपत्र दायर गरेको छ।
१७ चैत २०७७ सालमा रावलको निधन भएको थियो।
रावलको मृत्यु भए पनि मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था छ। नवल सिहं रावलको मृत्यु भइसके पनि निजको हकमा प्रचलित कानून बमोजिम निजको हक खाने अंशियारबाट बिगो उठाउन पनि अख्तियारले माग गरेको छ।
साथै मोहन्याल गाउँपालिका, कैलालीका तत्कालीन प्रमुख प्रशाकीय अधिकृत गणेशदत्त ओझाविरुद्ध पनि अख्तियारले आरोप पत्र दायर गरेको छ।
Facebook Comment
Comment