काठमाडौं। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बसाइँसराइ र शहरीकरण डरलाग्दो रुपमा बढिरहेको बताएकी छन्।
मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा उनले बसाइँसराइ एक किसिमले अवसर भए पनि त्यसलाई सदुपयोग गर्न नसकिएको बताइन्।
मन्त्री झाँक्रीले काठमाडौंमा सार्वजनिक ठाउँहरू अतिक्रमिण र दोहन भइरहेको भन्दै त्यसलाई रोक्नेबारे गहन छलफल हुन आवश्यक रहेको पनि बताइन्।
मन्त्री झाँक्रीले भनिन्, “अबको संघीय सरकारले नगरपालिकाहरूमा गर्ने काम कसरी गर्छौं। यो ग्राण्ट हो वा इन्भेष्टमेण्ट ? शहरी विकास धेरै नै क्रस कटिङ इस्यू रहेछ। सुरक्षाको, डिजास्टरको क्षेत्रबाट। हामीले यति सानो गल्लीहरू बनाएका छौँ, टुँडिखेलबाहेक कतै खाली ठाउँ छैन। टुँडिखेलमा पनि नौ फिटका ठूला रेलिङ लाएका छौँ, सर्वसाधारणलाई अनुमति नै छैन। साना साना पार्कहरूमा सार्वजनिक जमीनको यति ठूलो अतिक्रमण र दोहन छ, सार्वजनिक क्षेत्रको अतिक्रमणलाई कसरी रोक्ने ?यो हाम्रो लागि असाध्यै चुनौती छ।”
कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदनअनुसार नगरपालिकामा बसोबास गर्नेहरूको जनसंख्या ६६ प्रतिशतको हाराहारी भए पनि अधिकांश नगरपालिकाहरूमा न्यूनतम् आधारभूत पूर्वाधारहरू पुग्न नसकेको बताए। उनले हालै स्थापना भएका नगरपालिकाहरूको संस्थागत क्षमता अपेक्षितरुपमा विकसित हुन नसकेको पनि बताए।
Facebook Comment
Comment