एजेन्सी । ७० वर्षका सहवाज नवाज पाकिस्तान मुस्लिम लिग एन (पीएमएल-एन) का नेता हुन्। उनी पूर्व प्रधानमन्त्री नवाज सर्रिफका भाइ हुन्।
सहवाजले तीनपटक पाकिस्तानको पञ्जाब प्रान्तमा मुख्यमन्त्री चलाइसकेका छन्।
सन् १९९० मा उनी पहिलोपटक पाकिस्तानको राष्ट्रियसभामा निर्वाचित भएका थिए। १९९९ मा नवाज सर्रिफको सरकारमाथि सैन्य ‘कू’ भएपछि आफ्ना दाजू नवाजसँगै सहवाज पनि विदेश भए। उनले झन्डै ८ वर्ष साउदी अरेबियामा निर्वासनमा बिताए।
२००७ मा पाकिस्तान फर्किएका उनी पीएमएल- एनको अध्यक्षमा मनोतित भए। सहवाजको छवि राजनीतिज्ञभन्दा पनि एक कुशल व्यवस्थापकका रुपमा बनेको छ। विश्लेषकहरूका अनुसार पाकिस्तानी सेनासँग उनको सम्बन्ध राम्रो छ, २२ करोड जनसंख्या रहेको पाकिस्तानको विदेश र रक्षा नीति प्राय: सेनाले नै तय गर्छ।
गत बिहीबार पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटनको सरकारको निर्णयलाई बदर गरिदिएको थियो। त्यस्तै, प्रधानमन्त्री इमरान खानमाथि विपक्षीहरूले ल्याएको अविश्वास प्रस्तावलाई उपसभामुखले अस्विकार गर्न नमिल्ने फैसला समेत सुनाएको थियो।
अदालतको यस फैसलापछि शनिबार बसेको संसद्को बैठकले इमरानविरूद्धको अविश्वास प्रस्ताव पारित गर्यो।इमरानको पार्टी पाक तहरिक ए इन्साफ (पीटीई) का सांसद्हरूले अविश्वासको प्रस्तावमा मतदान गरेनन्।
नयाँ प्रधानमन्त्रीमा सहवाज नियुक्त गरेसँगै इमरानले आफ्ना सबै सांसद्हरूले राजिनामा दिने घोषणा गरेका छन्। उनले सहवाजलाई भ्रस्ट र दास ठहर गरेका छन्। ”जो व्यक्तिमाथि १६ बिलियन र ८ बिलियन रूपैयाँको भ्रस्टाचार मुद्दा छ। त्यस्तो व्यक्तिलाई जो सुकैले प्रधानमन्त्री चयन गरेपनि यो देशको ठूलो बेइज्जती हुनेछ। हामी संसदबाट राजीनामा गर्नेछौं,” उनले भने।
उनले सहवाज सर्रिफ अमेरिकाको दास रहेको आरोप पनि लगाए।
२०१८ मा ‘नयाँ पाकिस्तान’ नारा दिएर इमरान सत्तामा आएका थिए। उनलाई निर्वाचन जिताउन सेनाको पनि सहयोगी भूमिका खेलेको विपक्षीहरूको आरोप थियो।
तर देशको अर्थतन्त्र सुदृढ बनाउने, जनताकी जीवनस्तर उकास्ने, भ्रस्टाचार नियन्त्रण गर्नेलगायत नाराहरूमा इमरान सरकार खरो उत्रन सकेन।
आफ्ना वाचा पूरा गर्न नसकेपछि जनतामाझ लोकप्रियता गुमाउँदै गएको इमरान सरकार र पाकिस्तानको सेनाबीच पनि विश्वासको संकट देखियो। देशको आर्थिक अवस्था सुधार हुनुको साटो उल्टै बिग्रन थालेपछि देशमा संकट शुरू भएको थियो।
यस्तो संकटपूर्ण घडीमा विपक्षीहरूले इमरानमाथि अविश्वासको प्रस्ताव ल्याउँदै सहवाजलाई नयाँ प्रधानमन्त्री बनाएका हुन्। सहवाजले कुनै पनि विदेशी शक्तिलाई हस्तक्षेपका लागि ननिम्त्याइएको र कुनै पनि विदेशी षड्यन्त्रमा आफू संलग्न नरहेको बयान दिएका छन्।
२०१९ मा राष्ट्रिय जवाफदेही ब्युरोले सर्रिफ र उनको छोराका झन्डै दुई दर्जन सम्पत्ति रोक्का गरेको थियो, उनीहरूमाथि कालो धनलाई सेतो बनाएको आरोप थियो।
२०२० सेप्टेम्बरमा उनलाई पक्राउ गरेर जेल हालियो, तर ६ महिनापछि नै उनी जमानतमा छुटे। यसबारेको सुनुवाई अझै पनि चलिरहेको छ।
१९४७ मा पाकिस्तान स्वतन्त्र भएयता यस देशमा चारपटक सैन्य कु भइसकेको छ। यस देशमा ३ दशकभन्दा बढी समय सैन्य शासन कायम रह्यो। अन्य समयमा पनि सेनाको हस्तक्षेपबाट निर्वाचित सरकार मुक्त रहन सकेनन्।
पाकिस्तानको ७५ वर्षे इतिहासमा कुनै पनि प्रधानमन्त्रीले कहिल्यै पूर्ण कार्यकाल पूरा गर्न पाएका छैनन्।
Facebook Comment
Comment