कानूनविपरीत टुक्रे योजनामा रकमान्तर गरेको भन्दै बागमती सरकारविरुद्ध अख्तियारमा उजुरी

नेपालभ्युज

कानूनविपरीत टुक्रे योजनामा रकमान्तर गरेको भन्दै बागमती सरकारविरुद्ध अख्तियारमा उजुरी

हेटौंडा। बागमती प्रदेश सरकारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। प्रदेश सरकारले कानूनविपरीत पाँच लाख रुपैयाँको टुक्रे योजनाका लागि रकमान्तर गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडामा उजुरी परेको हो।

स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत पाँच लाख रुपैयाँका टुक्रे योजना वितरण गरिएको उजुरीमा उल्लेख छ।  बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित कार्यक्रमभन्दा बाहिर गएर साना २ हजार २ सय ९९ योजनामा रकमान्तर गरेको छ।

६ फागुन २०७८ मा  बसेको मन्त्रिपरिषद् बैठकले बजेट रकमान्तर गरेको हो। संविधानको धारा २३२ विपरीत स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत विकास निर्माणको काम अघि बढाउने सरकारको निर्णय संविधान र कानूनविपरीत भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले जनाएको छ।

प्राविधिक अध्ययन, लागत अनुमान र सम्भाव्यता नै अध्ययन नगरी स्थानीय तहले गर्दै आएको काममा दोहोरो हुने गरी प्रदेश सरकारले बजेट वितरण गरेको निवेदनमा उल्लेख भएको आयोगका सूचना अधिकारी विष्णु प्रसाद सापकोटाले बताए।

निवेदनउपर अख्तियारले छानबिन गर्ने सूचना अधिकारी सापकोटाको भनाइ छ। प्रदेश सरकार कार्यकर्ता पोस्ने गरी साना योजनामा बजेट रकमान्तर गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले सरकारको विरोध गर्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved