काठमाडौं। भारत सरकारको आर्थिक सहयोगमा जनविकास माध्यमिक विद्यालय, इरकोट स्वास्थ्य चौकी भवन र महेशफाँट सिँचाइ परियोजनाको निर्माण हुने भएको छ।
यसका लागि भारतीय राजदूतावास, नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, दार्चुलाको दुहुँ गाउँपालिका, दार्चुलको, नौगाड गाउँपालिका र धादिङको गल्छी गाउँपालिकाबीच तीनवटा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
भारत–नेपाल विकास सहकार्य अन्तर्गत निर्माण हुन लागेका माथि यी सामुदायिक विकास परियोजनाहरुको कूल अनुमानित लागत नेरु. ७ करोड ८ लाख रहेको छ। नेरु. ३ करोड ३७ लाख लागतमा जनविकास माध्यमिक विद्यालय, नेरु. २ करोड ५३ लाख लागतमा इरकोट स्वास्थ्य चौकी भवन र नेरु. १ करोड १७ लाख लागतमा महेशफाँट सिँचाई परियोजनाको निर्माण गरिने समझदारीपत्रमा उल्लेख छ।
यी परियोजनाहरुको निर्माणले स्थानीय बासिन्दाहरुलाई राम्रो शिक्षा र राम्रो स्वास्थ्य सेवा सुविधा प्रदान गर्नुका साथै कृषि र बाली उत्पादन बढाउन स्थानीय किसानहरुलाई मद्दत गर्नेछ।
यसबाट स्थानीयहरुलाई जीवन निर्वाह गर्न सजिलो हुनुका साथै उनीहरुको आर्थिक स्थितिमा पनि सुधार आउने विश्वास लिइएको छ।
नेपालका सातैवटा प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक संरचनाहरुको निर्माणजस्ता विविध क्षेत्रहरुमा सन् २००३ यता भारतले ५२४ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ।
त्यसमध्ये दार्चुला जिल्लामा ६ वटा परियोजनासहित प्रदेश ७ मा ३२ वटा परियोजनाहरुलाई अघि बढाइएको छ भने धादिङ जिल्लामा ३ वटा परियोजनासहित प्रदेश ३ मा १०२ वटा परियोजनाहरुलाई अघि बढाएको छ।
Facebook Comment
Comment