चुनावी आचारसंहिता लागू गर्ने निर्वाचन आयोगको तयारी

७७ वटै जिल्लामा सर्कुलर हुँदै, सर्कुलर गरेको दुईदिनभित्र आचारसंहिता लागू हुने

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई लक्षित गरी यसै सातादेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी थालेको छ। आगामी वैशाख ३० गते तय भएको निर्वाचनका लागि आचारसंहिता लागु गर्ने तयारी भइरहेको जनाइएको छ।

नेपालभ्युज

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई लक्षित गरी यसै सातादेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी थालेको छ। आगामी वैशाख ३० गते तय भएको निर्वाचनका लागि आचारसंहिता लागु गर्ने तयारी भइरहेको जनाइएको छ।

आचारसंहिता लागु गर्न हुने ढिलाइले निर्वाचनलाई प्रभावित पार्ने गरी जनप्रतिनिधिबाट स्रोत र साधन दुरूपयोग भइरहेको गुनासो आइरहेपछि केही दिनभित्रै लागु गर्ने आयोगको तयारी छ। सम्भवतः तीन दिनभित्र आचारसंहिता लागु गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

आचारसंहिता लागु गर्ने सर्कुलर जारी गरेपछि ७७ वटै जिल्लामा सर्कुलर गर्ने र सर्कुलर गरेको दुई दिनभित्र आचारसंहिता लागू हुने नियम छ।

आचारसंहिता लागु गर्नु पूर्व ७७ जिल्ला निर्वाचन कार्यालय र गृह प्रशासनलाई तम्तयार राख्नुपर्ने र स्थानीय प्रशासनमा आचारसंहिता उल्लङ्घनको उजुरी लिने व्यवस्थापन गर्नुपर्ने थपलियाले बताए।

आयोगले आचारसंहिता लागु गर्ने विषयमा मंगलबार राजनीतिक दलहरूसँग छलफल गरेको थियो। छलफलमा एमालेलगायतका केही दलले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेन। तर, प्रतिबद्धता पत्रमा हस्ताक्षर नगर्नेलाई पनि आचारसंहिता लाग्नेछ।

आयोगले आचारसंहिता लागु गरिएपछि ७ सय ५३ वटै स्थानीय तहमा विभिन्न संयन्त्रमार्फत निर्वाचन अनुगमन गर्ने तयारी गरेको छ।

यसपटकको निर्वाचन आचारसंहिता पहिलेभन्दा फरक, विस्तृत र धेरै क्षेत्रलाई समेटिएको छ। निजी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज मात्र नभई मतदाताका लागि पनि समेटेर आचारसंहिता बनाइएको आयोगले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved