काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुर लालझाडी गाउँपालिकाले स्थानीय तह निर्वाचनमा गठबन्धन लाद्न खोजे कदापि स्वीकार्य नहुने चेतावनी दिएको छ।
कांग्रेस गाउँपालिका कार्य समितिको १२ र १३ चैतमा बसेको बैठकले स्थानीय चुनावमा गठबन्धनको विषयमा छलफल भएको र स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने विषय अनुमोदन भएको जनाइएको छ।
पार्टीको केन्द्रको निर्णय स्वागतयोग्य भए पनि लालझाडी गाउँपालिका सरकारको नेतृत्व लिन आफूहरू सक्षम भएको गाउँपालिका कार्यसमितिले जनाएको छ। यो पाँच वर्षको अवधिमा कम्युनिष्ट सरकारबाट जनता पीडित भएका भन्दै जनताको पक्षमा उभिँदै सुशासन र विकासका लागि कांग्रेस लालझाडी एकताबद्ध भएको आज एक विज्ञप्तिमार्फत जनाएको छ।
साथै गाउँ कार्यसमितिका सदस्यहरूले ‘रूख’ बाहेक अन्त भोट हाल्न र जनतासामु मत माग्न नसकिने पनि लालझाडी कांग्रेसले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ- नेपाली कांग्रेस लालझाडी सिंगो एकताबद्ध भएर गठबन्धन नगरेर एक्लै चुनावको मैदानमा उत्रिने निर्णय गर्दछ। लालझाडी गाउँकार्य समिति एवम् हजारौं लालझाडी कांग्रेस जनको भावना र निर्णयलाई उपेक्षा गर्दै केन्द्रीय प्रदेश र जिल्ला नेतृत्वले लालझाडी गापामा गठबन्धन लाद्न खोजे कदापि स्वीकार्य हुने छैन भन्ने विषय नेतृत्वलाई ध्यानाकर्षण गराउन चाहन्छौं।

Facebook Comment
Comment