काठमाडौं । नेपालले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावट विद्युत् बिक्री गर्ने अनुमति पाएको छ।
बुधबार ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको सहमतिबमोजिम नेपालले भारतीय विद्युत बजारमा थप ३२५ मेगावट विद्युत बिक्री गर्न स्वीकृति भएको जानकारी दिइन्।
मन्त्री भुसालले नेपालमा उत्पादित विद्युत अन्य देशमा समेत बिक्री गर्न सक्ने बाटो खुला भएको बताइन्।
सरकारले विद्युत बजार विस्तारको लागि भारत, बंलादेश, भुटान र नेपालमा उत्पादन, ट्रान्समिसन लाईन र क्रस बोर्डर ट्रान्समिसन लाइनहरू निर्माण गर्ने बाटो खुला भएको दाबी गरिन्। नेपालले आन्तरिक खपत पूरा गरेपछि बाँकी रहेको विद्युत् भारतीय बजारमा जाने र अरू देशमा पनि विद्युत् निर्यात गर्न सक्ने गरी बजारको ढोका खुलेको उल्लेख गरिन्।
उनले यो अनुमति पाएसँगै दुई देशबीचको व्यापार घाटामा कमी आई अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास समेत व्यक्त गरिन्। मन्त्री भुसालले यसअघि २०७८ कात्तिकमा पहिलो चरणमा ३९ मेगावट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज आइएम्समा बिक्री गर्न स्वीकृति दिएकोमा अहिले थप ३२५ मेगावट भएको बताइन्।
त्यस्तै मन्त्री भुसालले मुलुकभित्र उत्पादित विद्युत खपतको सुनिश्चिता नभएको कारण पीपीए रोकिएको बताइन्। उनले पुरानो नीति अनुसार पीपीए सम्झौताको कोटा पूरा भएकाले रोकिएको बताइन्। मन्त्री भुसालले पछिल्लो समय विद्युतको घरायसी तथा उद्योगमा विद्युत खपत बढ्दै गएको दाबी गरिन्।
अहिले रुस र युक्रेनको युद्धको कारण विद्युत आपूर्तिमा समस्या हुँदा विद्युत कटौती भएको भन्दै मन्त्री भुसालले अब सरकारले उद्योगहरूले माग जति विद्युत दिन सक्ने दाबी गरिन्। उनले अन्य देशमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा अन्य विकल्प छैन तर नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि विद्युत विकल्पमा रहेको दाबी गरिन्। सरकारले विद्युत् उत्पादन बढाउन अन्य ठूला आयोजनाहरू समेत निर्माणको तयारी गरिरहेको बताइन्।
Facebook Comment
Comment