चैत २५ गते खुलामञ्चमा राप्रपाको आमसभा, तयारी तीव्र

नेपालभ्युज

चैत २५ गते खुलामञ्चमा राप्रपाको आमसभा, तयारी तीव्र

काठमाडौं। उपत्यका बाहिर दिनहुँ आमसभा गरिरहेको राप्रपाले चैत २५ गते काठमाडौंमा हुने आमसभालाई भव्य, व्यवस्थित र विशाल बनाउन तयारीमा जुटेको छ।

पार्टीको बागमती प्रदेश समितिले आज काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, उपत्यकाका तीन जिल्लाका अध्यक्षहरू, तीनवटै जिल्ला अन्तर्गतका महानगर, नगर, संघ र प्रदेश क्षेत्रीय समिति एवं भातृ संगठनको संयुक्त बैठक गरेर आमसभा तयारीको बारे समिक्षा गरेको छ।

बैठकमा आमसभाका लागि गठित जनपरिचालन समितिका संयोजक पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले देशभरि उर्लिएको जनलहर र पार्टी प्रवेश कार्यक्रमलाई काठमाडौंमा हुने आमसभामा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए। पार्टीले शक्ति प्रदर्शनको तयारी गर्नुपर्नेमा जोड दिए।

उपाध्यक्ष एवं सचिवालय प्रमुख हेमजङ गुरुङले आमसभाका लागि पार्टीको तर्फबाट गरिनुपर्ने तयारी बैठकलाई जानकारी गराएका थिए।

देशका अधिकांश जिल्लामा आमसभा गरिसकेको राप्रपाले ९ वैशाखसम्म आमसभाको मिति तय गरिसकेको र सबै सभामा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

लामो समय देशको नेतृत्व गरेका राजनीतिक दलको असफलता, भ्रष्टाचार नियन्त्रण, रोजगारीको सिर्जना, जनजीविकाको सवालमा ती दलको उदासीनता र राष्ट्रिय राजनीतिमा राप्रपाको स्पष्ट दृष्टिकोण एवं राप्रपाले पार्टीको नेतृत्व परिवर्तन गरेको अवस्थामा राप्रपा प्रति जनताको आशा, विश्वास र भरोसा बढिरहेको प्रवक्ता श्रेष्ठ दाबी गर्छन्। हामी चैत २५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्छौं,” श्रेष्ठ भन्छन्, “तयारी त्यही अनुसार भइरहेको छ।”

आजको आमसभा तयारी बैठकमा उपत्यकाको प्रतिनिधित्व गर्ने उपाध्यक्ष रोशन कार्की र महामन्त्री भुवन पाठकले काठमाडौंका जनता परिवर्तनको पक्षमा रहेको र राप्रपालाई साथ दिने पक्षमा रहेको बताएका छन्।

हामी क्षेत्र र नगरमा मात्रै होइन टोल टोल र घर घरमा मा पुग्न सक्नुपर्छ, जनताले साथ दिनेछ, महामन्त्री राजेन्द्र गुरुङले भने।

पार्टीको बागमती प्रदेश कार्यसमितिका अध्यक्ष विक्रम बहादुर थापा, काठमाडौं जिल्लाका अध्यक्ष नवराज सिंखडा, ललितपुर जिल्ला अध्यक्ष अष्ट महर्जन, भक्तपुरका अध्यक्ष रामशरण लामिछानेले आफ्नो तयारी बारे बैठकलाई अवगत गराएका थिए।

झापा, मोरङ, सुनसरी, उदयपुर, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली, कञ्चनपुर, कास्की, लमजुङ, तनहुँ, गोरखा, बागलुङ, सुर्खेत, दाङ, नवलपुर, धनुषा, नुवाकोट, ललितपुर, भक्तपुर, सिन्धुली, लमजुङ, बर्दियामा आमसभा गरिसकेको राप्रपाले २५ चैतमा काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved