सिन्धुलीको मुसहर बस्तीबाट भूमिहीन दलितलाई लालपूर्जा वितरण शुरु

नेपालभ्युज

सिन्धुलीको मुसहर बस्तीबाट भूमिहीन दलितलाई लालपूर्जा वितरण शुरु

सिन्धुली। संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलितलाई जग्गाको लालपूर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तिबाट शुरु गरिएको छ।

राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समिति मार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहीन घर परिवारलाई लालपूर्जा वितरण गरिएको हो।

भूमिहीन दलितलाई लालपूर्जा वितरण कार्यक्रमको आज शुरुवात गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सरकारले शुरु गरेको भूमीहीनलाई जग्गा वितरण गर्ने अभियानमा वास्तविक भूमिहीन कोही पनि जग्गा पाउनबाट छुट्न नहुने बताइन्।

भूमिहीनलाई भूमि उपलब्ध गराउने अभियानमा देश जुटिरहेको भन्दै मन्त्री श्रेष्ठले बारम्बार उठिरहने भूमिसम्बन्धी समस्या दिगो रूपमै समाधान गर्न आफूहरू लागिरहेको पनि बताइन्।

मन्त्री श्रेष्ठले एक वर्षभित्र सबै गाउँब्लकको जग्गाको नापी गर्ने र लालपूर्जा वितरण गर्ने काम सम्पन्न गरिसक्ने पनि बताइन्। मन्त्री श्रेष्ठले भनिन्, “सरकार संविधानको कार्यन्वयन र भूमिहीनलाई भूमि उपलब्ध गराउने काममा जुटिरहेको छ। भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई ललापूर्जा वितरणको काम पनि अब राष्ट्रिय भूमि आयोगमार्फत शुरु भइसकेको छ, निर्वाचन आचारसंहितका कारण केही समय लालपूर्जा वितरणको काम रोकिने भए पनि निर्वाचनलगत्तै पुनः कामले तीव्रता पाउने छ भने देशभर रहेका गाउँब्लकको जग्गा नापी र लालपूर्जा वितरणको काम एक वर्षभित्र गरिसक्ने गरी काम शुरु गरिसकिएको छ।”

मन्त्री श्रेष्ठले भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने अहिलेको सरकारको मुख्य उद्देश्य रहेको भन्दै आगामी दिनमा फेरि पनि आयोग गठन गरिरहनुपर्ने तथा भूमिसम्बन्धी विषयमा हात हालिरहनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न लागिपरेको पनि बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved