काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशले भोग्दै आएको प्रविधिको रुपान्तरण र आर्थिक समस्याबारे सरकार जानकार रहेको बताएका छन्।
मन्त्री कार्कीले प्रविधिको विकास, रुपान्तरण र मल्टिमिडियाको आवश्यक्ता अनुसार अझै परिमार्जित ढंगले अघि बढन रेडिओ नेपाललाई आग्रहसमेत गरे। रेडिओ नेपालको ७२ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार सिंहदरबारमा आयोजित एक समारोहमा उनले देशको सबै भूभागमा रेडिओ नेपालको पहुँच पुर्याउन जरुरी रहेको पनि बताए।
सुदूर गाउँको समस्या र सम्भावनालाई उजागर गर्नेगरी रेडिओ नेपालले अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार र सूचना प्रवाह गर्नुपर्ने पनि मन्त्री कार्कीको भनाइ थियो। उनले रेडिओ नेपाललाई बदलिँदो परिवेश र त्यसले निम्त्याएको प्रतिस्पर्धामा खरो ढंगले उत्रन पनि आग्रह गरे।
मन्त्री कार्कीले राष्ट्रिय प्रशारण संस्था हुनुको नाताले रेडिओ नेपालले राष्ट्रिय दायित्वलाई समेत हेरेर काम गर्नुपर्ने स्पष्ट पारे। भने, “अझै पनि देशको सतप्रतिशत भू-भागमा रेडिओ नेपाल सुनाउन यसले थप सेवा प्रशारण गर्ने कार्यमा लाग्नुपर्ने आवश्यक्ता छ। वर्तमान अवस्थाको प्रतिस्पर्धी युगमा रेडिओ नेपाल समय सुहाउँदो नविनतम प्रविधिहरूको उपयोग गर्दै अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार र सूचना प्रवाह गर्नुपर्दछ।
मन्त्री कार्कीले राष्ट्रको धरोहरको रुपमा रहेको रेडिओ नेपाललाई थप उचाइमा लैजान सरकार लागि परेको उल्लेख गर्दै यसमा रेडिओ नेपालमा आबद्ध सबै सञ्चारकर्मी, प्राविधिक र व्यवस्थापकहरूले पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे।
Facebook Comment
Comment