जनकपुरधाम। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले भारतको रक्सौलाबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुने बताएकी छन्।
जनकपुरधामस्थित रेल्वे स्टेशनमा आज आयोजित जयनगर–कुर्था रेल सेवा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले भारतको रक्सौलबाट सिमरा र सिमराबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुने बताइन्।
“पहिलो चरणमा जयनगरबाट बिजलपुरासम्मको ७० किलोमिटर रेल्वे ट्याक्ट तयारी भइसकेको छ”, मन्त्री यादवले भनिन्, “अब हस्तान्तरण हुन मात्र बाँकी छ, हस्तान्तरण भएपछि बिजलपुरासम्म रेल चल्ने छ।”
साथै विराटनगरबाट बर्दिबाससम्म पनि रेल सेवा विस्तार गर्ने तयारी भइरहेको मन्त्री यादवको भनाइ छ।
यसरी रेल सेवाको विस्तार भएपछि नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध अझै प्रगाढ बन्ने दाबी गर्दै मन्त्री यादवले नेपाल र भारतबीच सरकार ऊर्जा, आर्थिक विकास र कन्टेक्टीभिटी विस्तारलाई जोड दिएको बताइन्।
“जयनगरबाट कुर्थासम्मको रेल सञ्चालन भइसकेको छ”, मन्त्री यादवले भनिन्, “रेल सञ्चालन भएपछि रेलको सुरक्षा र संरक्षण गर्ने हाम्रो धर्म हो, रेल चलाउने र संरक्षण गर्ने कार्यमा सबैले सहयोग गर्नुपर्छ”, उनले भनिन्।
रेल चलेपछि नेपालको बेरोजगारीको अन्त्य हुनुका साथै आर्थिक विकास र समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले विकास र समृद्धिका लागि यातायात पूर्वाधार विस्तारलाई सरकारले प्राथमिकता दिएको बताइन्।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले रेल सेवा सञ्चालनले मधेश प्रदेशको विकास र समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
Facebook Comment
Comment