चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर, शाखाले विपन्न समुदायका नागरिकको घरमा निःशुल्क रूपमा विद्युत् मिटर बक्स जडान गर्न थालेको छ । भरतपुर महानगरपालिकासँगको समन्वयमा प्रधिकरणले विद्युत् चोरी हुने सम्भावित क्षेत्रका नागरिकलाई लक्षित गरी निःशुल्क मिटर वितरण सुरु गरेको हो ।
प्राधिकरणका इन्जिनियर राजेन्द्र पौडेलले विद्युत् चोरी नियन्त्रण र अनधिकृत रूपमा गरिने विद्युत् प्रयोगबाट हुने विद्युतीय दुर्घटना न्यूनीकरण गर्न विपन्न समुदायका नागरिकको घरमा निःशुल्क मिटर बक्स जडान गर्ने कार्य थालनी गरिएको जानकारी दिए।
“पहिलो चरणमा भरतपुर महानगरभित्रका ५० विपन्न समुदायका नागरिकका घरमा मिटर बक्स जडान गर्ने योजना छ,” पौडेलले भने, “अहिले १७ घरमा जडान भइसकेको छ ।”
भरतपुर महानगरभित्र आफ्नो कार्यक्षेत्र भएको प्राधिकरणको भरतपुर शाखाअन्तर्गत वर्षमा एक लाख ५८ हजार युनिट विद्युत् खपत हुने गरेको छ । यसरी खपत हुने विद्युत्मध्ये पाँच प्रतिशत चोरी हुने गरेको प्राधिकरणको ठम्याइ छ । चोरी तथा चुहावटलाई शून्यमा झार्ने उद्देश्यले यो अभियान थालिएको इन्जिनियर पौडेलले बताए।
निःशुल्क जडान गरिएको मिटर प्राधिकरणको मापदण्डअनुसारको पाँचदेखि ३० एम्पिएर क्षमताको रहेको छ । भरतपुर महानगरकी प्रमुख रेणु दहालले वडा कार्यालयले विपन्न परिवार सिफारिस गरेका आधारमा मात्रै विद्युत् मिटर निःशुल्क जडान गरिएको बताए।
Facebook Comment
Comment