सुर्खेतमा कांग्रेसइतर पक्षले माग्यो ४० प्रतिशत हिस्सा

नेपालभ्युज

सुर्खेतमा कांग्रेसइतर पक्षले माग्यो ४० प्रतिशत हिस्सा

सुर्खेत। सुर्खेतमा नेपाली कांग्रेस संस्थापन इतरपक्षले ४० प्रतिशत हिस्सा माग गर्ने निष्कर्ष निकालेको छ। शुक्रबार शेखर कोइराला समूहको बैठकले आफूहरूलाई ४० प्रतिशत हिस्साको माग गर्ने निष्कर्ष निकालेको हो।

सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीको नेतृत्वमा भएको भेलामा संस्थापन पक्षले एकलौटी गर्न खोजेको आरोप लगाएको छ।

पार्टीभित्र अब भागबण्डाको राजनीति नगर्ने भनिए पनि संस्थापन इतर पक्षलाई पेलेर जाने, बेवास्ता गर्ने प्रवृत्ति बढेको हुँदा अब पार्टीभित्र ६०-४० को भागवण्डा हुनुपर्ने समूहको निष्कर्ष निकालेको छ।

सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीले निर्वाचनमा कांग्रेसलाइ विजय गराउन लाग्न नेता तथा कार्यकर्तालाइ आग्रह गर्दै आफूहरूको पनि सम्मानजनक उपस्थिति देखाउन अपिल गरेका छन्।

“पार्टीमा मनोनित गर्ने सवालमा होस् वा भूमिका दिने सवालमा संस्थापन इतर समूहलाई भूमिका विहीन बनाइएको छ,” उनले भने, “आगामी स्थानीय तहको निर्वाचनमा पनि यस्तै सम्भावना हुन सक्ने जोखिम बढेकोले अब आफूहरूलाई ४० प्रतिशतको हिस्सा दिनुपर्छ।”

उनले स्थानीय तहको निर्वाचनमा संस्थापन पक्षलाई पनि बाइपास गर्न सक्ने जोखिम भएकोले त्यसो नगर्न नेतृत्वलाई चेतावनी दिए। आजसम्म आफूहरूले पर्खेर बसेको भन्दै युवा नेता नारायण कोइरालाले संस्थापन पक्षको गतिविधिले इतर पक्षलाई बेवास्ता गरेको बताए।

पार्टी एक्लै चुनावमा जान सक्षम भए पनि केन्द्रीय नेतृत्वले गठवन्धन गर्ने निर्णय गर्नुले कार्यकर्तामा निराशा छाएको उनले बताए। पार्टीभित्र फरक मत भए पनि सहअस्तित्व र सम्मानको वातावरण बनाउनुपर्ने उनको भनाइ छ।

यसैबीच कांग्रेसका निवर्तमान सचिव भूपेन्द्र खत्रीले केन्द्रीय नेताकै कारण पार्टी कमजोर बन्न लागेको बताए। “सिद्धान्तै नमिल्ने पार्टीसँग काँग्रेसले गठबन्धन गर्नु दुर्भाग्य भएको छ,” उनले भने, “पार्टीभित्र इतर पक्षलाई मिलाउनुको सट्टा सिद्धान्त नमिल्नेलाई साथमा लिन खोज्ने प्रवृत्तिले कांग्रेस कमजोर बनेको छ।”

कांग्रेस प्रदेश कार्यसमिति सदस्य शम्भु पन्तले नेताहरूले पार्टीभन्दा पदलाई जोड दिएकोले गठबन्धन गर्न खोजेको बताए। “गठबन्धन गर्न आवश्यकै थिएन,” उनले भने, “गठबन्धनका नाममा पार्टी सिध्याउने खेल भएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved