विराटनगर। प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नामकरणमा कोशी सभ्यताको विषय तर्कसंगत नहुने बताएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानले शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय बृहत वाङ्मय गोष्ठीमा बोल्दै मुख्यमन्त्री राईको यस्तो भनाइ आएको हो। प्रदेश नामकरणको बहस भइरहेका बेला किरात सभ्यतालाई ओझेलमा पार्न कोशी सभ्यताको कुरा उठाउनु जायज नहुने उनले बताए।
कोशी सभ्यताको थालनी कसरी भयो भन्ने विषयको कुनै लिखत नभएको मुख्यमन्त्री राईको भनाइ थियो। “कोशी सभ्यता कहाँ जोडिन्छ ?’ उनले भने, “पानीका लागि नदीको छेउमा मानव बसोबास भएर सभ्यताको विकास भएको हो भने नदी छेउमा कहीँ घना बस्ती देखिँदैन त।”
सभ्यता नदी र पानीले नभई मानिसले बनाउने बताउँदै मुख्यमन्त्री राईले किरात सभ्यता अनुसन्धानबाट प्रमाणित भएको तर्क गरे। उनले राज्यको गल्ती र विभेदले कुनै पनि भाषा तथा संस्कृतिलाई लोपोन्मुख अवस्थामा छोड्न नहुने जिकिर गरे।
शुक्रबारदेखि शुरु २ दिने गोष्ठीको ६ वटा सत्रमा प्रदेश १ मा बोलिने मातृभाषाको अवस्था, कोशी क्षेत्रका सांस्कृतिक सम्पदा, मैथिली जीवन दर्शन, नेपाली समालोचनाको स्थिति, नेपालको इतिहासको परिप्रेक्ष्यमा प्रदेश १ को वैशष्टिय र किरात जनजीवन तथा लोकसाहित्य विषयमा कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएको छ।
आयोजकका अनुसार पहिलो दिनको गोष्ठीको अन्त्यमा गजल सन्ध्या र दोस्रो दिनको गोष्ठीको अन्त्यमा प्रदेश विशेष कवि गोष्ठी हुनेछ।
Facebook Comment
Comment