काठमाडौं । बिम्स्टेकको पाँचौं शिखर सम्मेलनले बिमस्टेक बडापत्र २०२२ पारित गरेको छ । नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाले यस बडापत्रमा हस्ताक्षर गरेका छन्।
त्यसैगरी, सम्मेलनले तीनवटा नयाँ सम्झौता अनुमोदन गरेको छ। कोलम्बोमा भएको शिखर सम्मेलनमा सहभागी परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका तर्फबाट हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयद्वारा सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्री खड्काले ‘आपराधिक मामिलामा पारस्परिक कानुनी सहायता’सम्बन्धी बिमस्टेक महासन्धि र ‘कोलम्बोमा प्रविधि हस्तान्तरण सुविधा स्थापना’सम्बन्धी आबद्धतामा हस्ताक्षर गरेका हुन्।
त्यसैगरी, मन्त्रालयका सहसचिव तथा क्षेत्रीय सङ्गठन महाशाखाका प्रमुख घनश्याम भण्डारीले ‘बिमस्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठानरप्रशिक्षण संस्थाहरूबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्र ‘ मा हस्ताक्षर गरेका हुन्।
बिमस्टेक सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खड्का, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा, मुख्य सचिव शङ्करदास वैरागी, परराष्ट्र सचिव भरतराज पौडेललगायत सहभागी थिए।
यो पटकको शिखर सम्मेलनको नारा ‘बिमस्टेक–लचिलो क्षेत्र, समृद्ध अर्थतन्त्र, स्वस्थ जनता’ राखिएको थियो। सम्मेलनलाई सातै सदस्य राष्ट्रका नेताले सम्बोधन गरेका छन्। बिम्स्टेकमा नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, म्यानमार र थाइल्याण्ड सदस्य छन्।
Facebook Comment
Comment