महोत्तरी। जङ्गली सुँगुरले खेतीबाली नोक्सान गर्दा महोत्तरीको जलेश्वर नगरपालिकाका किसान हैरान भएका छन्। नगरपालिका विभिन्न वडामा अचानक देखापरेको सुँगुरको समूहले खेतबारीमा लगाइएको दलहन, तेलहनबाली, उखु, फलफूल र तरकारी बालीलाई क्षति पु¥याइरहेका कारण स्थानीय किसान मर्कामा परेका छन्।
नगरपालिका–६ मा १५/२० बिघाभन्दा बढीमा लगाइएको गहुँको जरा काटिदिने, बीचबाट बोट काटिदिने गर्नाले अधिकांश गहुँ नष्ट भएको स्थानीय किसान गणेश साहले बताए।
त्यस्तै ५०/६० बिघामा लगाइएको मसुरो, आलस, रहर, तोरी र आलु, लौका, फर्सी, बोडी, भिन्डी, टमाटरलगायत विभिन्न किसिमको तरकारी बाली तथा तरबुजा, काँक्रो, केरा लगायतका फलफूलहरु खाइदिने तथा जथाभावी रुपमा खेतबारी खनेर क्षति पुर्याउने गरेको स्थानीय किसान रामएकवाल साहले बताए।
लखेटन जाँदा सुँगुर तीव्र गतिमा मानिसतिरै आउनाले किसानलाई त्रसित बनाउने गरेको जलेश्वर नगरपालिका– ७ का किसान बिरजु महतोले बताए। यसको नियन्त्रण तथा क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका किसानलाई वन कार्यालयमा जान भनिएको र वन कार्यालयले प्रक्रिया पुरा गर्नुपर्ने सुझाव दिएको बताइएको छ।
Facebook Comment
Comment