म्रिस्ट्रीखोला दोस्रो आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो

नेपालभ्युज

म्रिस्ट्रीखोला दोस्रो आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो
सांकेतिक फोटो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १२ मेगावाट क्षमताको म्रिस्ट्रीखोला दोस्रो जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढेको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गत वर्ष ४२ मेगावाट क्षमताको म्रिस्ट्रीखोला पहिलो जलविद्युत् आयोजना बनाएको माउन्टेन इनर्जी नेपाल लिमिटेडले सोही आयोजनाको विद्युत्गृहबाट निस्कने पानीबाट अर्को आयोजना बनाउने तयारी गरेको हो।

सर्वेक्षण सकिएको आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने क्रममा रहेको परामर्शदाता संस्था इन्भाइरोमेन्टल पार्टनर्स प्रालिका शङ्कर बस्यालले बताए। “म्रिस्ट्रीखोलाको विद्युत्गृहबाट निस्कने पानीलाई पाइपलाइन र सुरुङमार्फत घारखोला नजिकैमा निर्माण हुने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्न लागिएको हो,” उनले बताए।

म्रिस्ट्रीखोलाको विद्युत्गृहदेखि पाउद्वार तातोपानी कुण्डभन्दा तलसम्म एक किलोमिटर हेडरेस कल्भर्ट र त्यहाँबाट दुई किलोमिटर ८८.२९ मिटर लामो सुरुङबाट ल्याएको पानी ७३.३७ मिटर उचाइको आउटलेटबाट विद्युत्गृहमा खसालिनेछ।

पहाडभित्र भूमिगत विद्युत्गृह बनाइने आयोजनाबाट वार्षिक ६६.४३ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। कूल रु दुई अरब १४ करोड ८३ लाख लागत अनुमान गरिएको आयोजना निर्माण अवधि तीन वर्षको हुनेछ। लागतका हिसाबले यो आयोजना सस्तो हुने माउन्टेन इनर्जीका प्रतिनिधि राजेन्द्र शर्माले बताए।

शर्माले तातोपानी कुण्डलाई असर नहोस् भनेर सुरुङको विकल्प खोजिएको बताए। कालीगण्डकी किनार नजिकैबाट घट्टखोलाको पानी पनि म्रिस्ट्रीखोला–२ को सुरुङमा मिसाइने भएकाले नारच्याङको सिँचाइ तथा खानेपानीमा असर नपुग्ने उनले बताए।

अन्नपूर्ण गाउँपालिका–४, ५, ३ र २ नम्बर वडा आयोजनाबाट प्रभावित हुनेछन्। पाउद्वार तातोपानी कुण्ड संरक्षणका लागि रु २५ लाखसहित आयोजना निर्माणका क्रममा हुने वातावरणीय असर न्यूनीकरणका लागि रु ७८ लाख विनियोजन भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved