२५ मार्च, १९७५ । गोली प्रहारले घाइते भएका साउदी अरेबियाका राजा फैसलको मृत्यु भयो । अस्पताल पुग्दासम्म उनी जीवित नै थिए, तर डाक्टरहरुको प्रयासका बाबजुद उनी बाँच्न सकेनन् ।
६८ वर्षका राजामाथि उनका भतिजा राजकुमार फैसल अबु मुसैदले तीनपटक गोली हानेका थिए। साक्षीहरुका अनुसार यस्तो अप्रिय घटना घट्नुअघि राजकुमार मुसैद कुवेती प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै थिए।
यो प्रतिनिधिमण्डल पनि राजालाई नै भेट्ने प्रतिक्षामा थियो। साक्षीहरुका अनुसार आफ्ना भतिजालाई चुम्बन गर्नका लागि राजा अगाडि बढेका थिए। तर भतिजा मुसैदले पेस्तोल झिकेर पहिले चिउँडो र त्यसपछि कानमा गोली हाने।
यति नै बेला राजाका एक अंगरक्षकले राजकुमारमाथि तरबार चलाए, तर त्यो तरबार दापभित्रै थियो। तेल मन्त्री शेख यमनीले अंगरक्षकहरुलाई चिच्याउँदै राजकुमारलाई नमार्न आदेश दिएको साक्षीहरुले बताएका थिए।
राजकुमार मुसैदलाई तत्कालै प्रहरीले पक्राउ गरेर हत्याबारे बयान लिएको थियो। चिकित्सक र मनोविद्हरुले राजकुमार मानसिक रुपमा असन्तुलित रहेको रिपोर्ट दिएका थिए। उनीहरुका अनुसार हत्याअघि र हत्यापछि पनि मुसैद शान्त थिए।
यस घटनापछि तीन दिनसम्मका लागि रियाद शहर पूर्ण रुपमा बन्द गरेर शोक बनाइएको थियो। राजा फैसलका भाई खालिद शाही परिवारको सहमतिमा नयाँ राजा बने।
हत्या आरोप पुष्टि भइसकेपछि राजकुमार मुसैदलाई १९७५ जुनमा मृत्युदण्ड दिइयो। रियादस्थित सार्वजनिक डबलीमा उनको टाउको टाकिएको थियो। ईस्लामिक कानुनअनुसार साउदीमा यो मृत्युदण्डको परम्परात पद्धती हो।
राजकुमारले किन आफ्नै काकाको हत्या गर्न खोजे भन्ने पुष्टि हुन सकेन । केहीले आफ्ना दाजुको हत्याको बदला लिन राजकुमारले यस्तो गरेको हुनसक्ने आशंका गरे। मुसैदका दाई खालिद १९६६ मा सुरक्षाकर्मीसँगको मुडभेडमा मारिएका थिए।
विकासप्रेमी उदार तानाशाह
राजा फैसलले आधुनिकीकरण र सुधारका धेरै योजना ल्याएका थिए। कम्युनिष्ट विरोधी इस्लामिक राष्ट्र, प्यालेस्टाइनीको पक्षधरतालगायत विषय उनको विदेश नीतिका प्रमुख हिस्सा थिए।
उनले इस्लामिक धार्मिक नेताहरुको शक्तिलाई सिमित पार्ने प्रयास गरेका थिए । इजरायलले पश्चिमा मुलुकबाट पाइरहेको सहयोगको विरोधमा उनले इन्धनको नाकाबन्दी गरिदिएका थिए, जसकारण १९७३ मा इन्धन संकट देखियो।
साउदीको प्रशासनिक संयन्त्रलाई चुस्त र स्थिर बनाउन पनि उनले ठूलो भूमिका खेलेका थिए। सुधारका केही कार्यक्रम विवादमा तानिएपनि साउदीका जनतामाझ उनी निकै लोकप्रिय थिए।
Facebook Comment
Comment