विज्ञहरू भन्छन्, ‘बीआरआईमा भएका सम्झौता सार्वजनिक गरिनुपर्छ’

नेपालभ्युज

विज्ञहरू भन्छन्, ‘बीआरआईमा भएका सम्झौता सार्वजनिक गरिनुपर्छ’

काठमाडौं । नेपाल र चीन सरकारबीच सन् २०१७ मा भएको बीआरआई परियोजनाको सम्झौता सार्वजनिक हुनपर्ने माग उठेको छ।

चिनियाँ परराष्ट्रमन्त्रीको शुक्रबारबाट हुने नेपाल भ्रमणको सन्दर्भमा काठमाडौंमा सेन्टर फर सोशल इन्क्लुज एन्ड फेडरालिज्म नामक संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरूले नेपाल र चीन सरकारबीच भएको बीआरआई सम्झौतामा उल्लेख भएको विषय सार्वजनिक तहमा आउनुपर्ने माग राखेका हुन्।

कार्यक्रममा भूराजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले नेपाल सरकार र चीन सरकारबीच भएको बीआरआई सम्झौताको पूर्ण विवरण सार्वजनिक तहमा ल्याउनुपर्ने माग राखेका छन्।

विश्लेषक वाग्लेले नेपाल सरकारले चीन सरकारसँग रणनीतिक साझेदारी गरेपछि नेपालले प्राप्त गरेको फाइदाका विषयमा पनि जानकारी दिइनुपर्ने बताएका हुन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङले २५ असोज २०७६ बाट गरेको नेपाल भ्रमणका अवसरमा नेपालले चीनसँग रणनीतिक साझेदारी गरेको उल्लेख गर्दै वाग्लेले यस्तो सम्झौताले नेपालले प्राप्त गरेको फाइदा के हो जानकारीमा आउनुपर्ने बताएका हुन्।

“चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणका क्रममा दुई देशबीच रणनीतिक साझेदारीमा सम्झौता भएको छ,” विश्लेषक वाग्लेले भने, “यस्तो सम्झौता हुनुपूर्व नेपाल र चीनबीचको सम्बन्ध कस्तो थियो र सम्झैतापछि नेपालले कस्तो फाइदा प्राप्त गर्यो त्यो जानकारीमा आउनुपर्ने पर्छ।”
कार्यक्रममा अर्थराजनीतिक विश्लेषक अच्चुत वाग्लेले चीन नेपालको मित्र मात्रै हो कि व्यापारिक मित्र हो त्यो जानकारीमा आउनुपर्ने बताए।

कोभिड महामारीको बाहना देखाएर चीनले नेपालतर्फको नाकामा कडाइ गरेका कारण चीनबाट नेपाल आउने समान ढुवानीमा समस्या आएको बताउँदै सहज परिस्थितिमा मात्रै नेपालसँग व्यापार गर्ने हो भने चीनलाई असल मित्र भन्न नसकिने विचार राखेका थिए।

“गएको दशैँमा मात्रै चीनतर्फबाट नेपालमा १५ सय कन्टेनर समान प्रवेश गर्न नपाएको विवरण प्राप्त भएका छन्,” अर्थराजनीतिक विश्लेषक वाग्लेले भने, “कोभिड महामारीलाई कारण देखाउँदै चीनले नेपालतर्फको नाका बन्द गरेको छ, सहज अवस्थामा मात्रै नेपालसँग व्यापारिक सम्बन्ध राख्ने हो भने चीन असर मित्रभन्दा बढी व्यापारिक मित्र हो।”

नेपाल चीनका लागि सानो बजार भएका कारण पनि चीनले नेपालसँगको व्यापारका विषयमा धेरै चासो नदिखएको उनको बुझाइ छ।
यस्तै कार्यक्रममा परराष्ट्र मन्त्रालयका पूर्वसचिव दिनेश भट्टराईले कूटनीतिमा देशको भौगोलिक अवस्थाको महत्त्व धेरै हुने बताए। नेपालमा चिनियाँ परराष्ट्रमन्त्रीको भ्रमणको सन्दर्भ जोड्दै नेपालमा तिब्बतियन मामिलालाई उचार्ने कोशिस भएको बताउँदै त्यस्तो हुनु नेपाललाई नै प्रत्युपादक हुने जिकिर उनको थियो।

“नेपालमा एमसीसी पारित भएको पछिको अवस्थामा तिब्बतियन मामिला उचाल्न खोजिएको देखिन्छ,” पूर्वपरराष्ट्र सचिव भट्टराई भने, “नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई हेरेर कदम चाल्नुपर्छ।”

बीपी कोइरालाको पालादेखि नेपाल चीनबीचको सम्बन्ध प्रगाढ रहेको स्मरण गराउँदै पूर्वपरराष्ट्रसचिव भट्टराई चिनियाँ परराष्ट्रमन्त्रीको नेपाल भ्रमणलाई नेपालले आफ्नो फाइदामा परिणत गर्नुपर्ने सुझाव दिएका थिए।

तीन चरणमा सञ्चालित कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल र चीनबीच विभिन्न प्रकारको समस्या बढ्दै गएको बताएका थिए। चीनसँग नेपालको कुनै प्रकारको समस्या नै नभएका रूपमा प्रचार भएको उल्लेख गर्दै सीमा, व्यापारदेखि अन्य हिसाबमा पनि दुई देशबीच समस्या बढ्दै गएको विचार कार्यक्रममा प्रस्तुत भएको थियो।

चीनले नेपालतर्फको व्यापारलाई एकतर्फी रूपमा नियन्त्रण गरेको भन्दै कार्यक्रममा बोल्ने वक्ताहरूले चिनियाँ परराष्ट्रमन्त्री यीको नेपाल भ्रमणको अवसरमा दुई देशबीच देखापरेका समस्यालाई स्पष्ट रूपमा अघि सानुपर्ने धारणा राखेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved