काठमाडौं। विवादित फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वीकृति दिएको छ।
एन्फाका कार्यबाहक महासचिव अरुणमान जोशीलाई आधिकारिक पत्रमार्फत नै एनएसएल आयोजक नेपाल स्पोर्टस एण्ड म्यानेज्मेन्ट प्रालीलाई एनएसएल आयोजनाको लागि स्वीकृति प्रदान गरेको हो।
आयोजकले आगामी चैत २५ गतेदेखि जेठ १ गतेसम्म प्रतियोगिता आयोजना गर्न एन्फासँग अनुमती मागेको थियो। एन्फाको स्वीकृती पत्र अनुसार सोहि मितिमा प्रतियोगिता आयोजना गर्ने अनुमति मिलेको छ।
गत वर्षदेखि आयोजना भएको एनएसएल यो पटक भने ‘ए’ डिभिजन लिगका क्लबहरूको विरोधका कारण विवादित बनेको थियो। शुरुमा ‘ए’ डिभिजन लिगका आठ क्लबहरूले यो लिग आयोजनामा विरोध जनाए पनि विशेषगरी थ्रीस्टार, मनाङ मर्स्याङ्दी, एनआरटी र संकटा क्लबले आधिकारिक रूपमा नै यो लिग रोक्न एन्फालाई अनुरोध गरेका थिए।
हाल ‘ए’ डिभिजन लिगका अनुबन्धित रहेका आफ्ना खेलाडीहरूलाई फ्रेन्चाइज फुटबल लिगका लागि अर्को शैलीका क्लबहरूले अनुबन्धित गरेको विषयमा यो विवाद शुरु भएको थियो।
विरोधका रहेका चार क्लबसँगको छलफलपछि एन्फाले एनएसएल आयोजनाको लागि स्वीकृति दिएको हो। विवाद समाधानका लागि दुई लिगका क्लबबीच आपसी समझदारीमा खेलाडी रिलिज र ट्रान्सफर गर्ने सहमति भएको बुझिएको छ।
यो विवाद समाधानका लागि एन्फाले अध्यक्ष कर्मा छिरिङ शेर्पाको नेतृत्वमा कार्यदल गठन भएको थियो। नेपालका विभिन्न शहरकेन्द्रित १० फ्रेन्चाइज फुटबल क्लबले यो लिगमा प्रतिस्पर्धा गर्दैछन्।
यो लिगका लागि खेलाडीको अक्सन भइसकेको छ।
तर विवादका कारण गत आइतबार हुने भनिएको टाइसिट ड्र भने रोकिएको थियो।
Facebook Comment
Comment