विराटनगर । एक महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको अनुसन्धानका निम्ति प्रदेश १ नम्बर प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ।
प्रदेश प्रहरी कार्यालयले प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिले समग्र अनुसन्धान गरेर दोषी पत्ता लगाउने प्रदेश प्रहरी कार्यालयका डीआईजी अरुण बीसीले बताए।
उनले घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने जानकारी दिए।
एसएसपी चौधरी प्रदेश १ प्रहरी कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखाका प्रमुख हुन्। आइतबार दिउँसो मोरङको लेटाङमा भएको उक्त घटनामा भने मोरङ प्रहरीका एसपीसहित २८ जना प्रहरी र ७ जना सर्वसाधारण घाइते भएका थिए।
घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठले ज्यान गुमाएकी थिइन्।
खेरूवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै स्कुलकी एक बालिकालाई यौन दुर्व्यवहार परेपछि पक्राउ गर्न गएको प्रहरीमाथि स्थानीयले आक्रमण गरेका थिए। उक्त घटनामा श्रेष्ठले ज्यान गुमाएकी थिइन्।
Facebook Comment
Comment