बागमती खेलकुद प्रतियोगिताः पुरुष फुटबल उपाधि मकवानपुरलाई

नेपालभ्युज

बागमती खेलकुद प्रतियोगिताः पुरुष फुटबल उपाधि मकवानपुरलाई

हेटौंडा। प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत हेटौंडामा भएको पुरुष फुटबल प्रतियोगितामा मकवानपुर विजयी भएको छ।

आज भएको फाइनल खेलमा ललितपुरलाई टाइब्रेकरमा निराश पार्दै मकवानपुर उपाधि जित्न सफल भएको हो। निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

खेलको ४ औं मिनेटमा नै ललितपुरका बिक्की महर्जनले गोल गरेर अग्रता दिलाए पनि मकवानपुरका ललित चौलागाईंले ७ औं मिनेटमा खेललाई बराबरीमा ल्याएका थिए। खेलको ३६ औं मिनेटमा मकवानपुरका समिराज थोकरले टिमलाई दोब्बर अग्रता दिलाएका थिए भने ललितपुरका रोहित गिरीले दोस्रोे हाफको १९ औं मिनेटमा बराबरीमा ल्याएका थिए।

टाइब्रेकरमा मकवानपुर ३–० गोल अन्तरले बिजयी भएको हो। टाइब्रेकरमा मकवानपुरका अमिर श्रेष्ठ, समिराज थोकर र सञ्जिव अर्यालले गोल गरेका थिए। उता ललितपुरबाट भने टाइब्रेकरमा एक गोल पनि हुन सकेन। ललितपुरका निरन्जन महर्जनको प्रहार मकवानपुरका गोलरक्षक अनिष देउलाले बिफल बनाइदिएका थिए भने रोहित गिरी र बिक्की महर्जनको प्रहार बाहिरिएको थियो।

फाइनल खेलको म्यान अफ द म्याच मकवानपुरका गोलरक्षक अनिष देउला घोषित भए। खेलको सर्वोत्कृष्ट खेलाडी मकवानपुरका समिराज थोकर घोषित भए। फाइनल खेलको ८२ औं मिनेटमा ललितपुरका अनिल महर्जनले रातो कार्ड खाँदै मैदान छोडेर बाहिरिएका थिए।

विजेता मकवानपुरले एक लाख रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता ललितपुरले ८० हजार रुपैयाँमा पाएको छ। प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाको सहभागिता रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved