काठमाडौं । कवि तथा लेखक रुपक अलंकारको महाकाब्य ‘विश्रान्त’ सार्वजनिक भएको छ। शनिबार एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत प्रसाद उपाध्याय, समालोचक प्रा. डा रामप्रसाद ज्ञवाली, महेश पौड्याल, शैलेन्द्र अधिकारीले उक्त कृति लोकार्पण गरेका हुन्।
फुटकर कविता र निबन्ध लेख्ने अंलकारले पहिलो कृतिका रुपमा महाकाब्य ल्याएका हुन्। सदस्य सचिव उपाध्यायले नेपालका राजनितिक नेतृत्वमा देखिएको व्यक्तिवादको चरित्रलाई कृतिले काव्यिक तरिकाले झापड हानेको बताए। विचार र कला सौन्दर्यको हिसाबले कृति अब्बल रहेको उनले बताए।
समालोचक डा. ज्ञवालीले महाकाब्यले नेपालको पछिल्लो २५ वर्षमा भएको राजनितिक परिवर्तनमा एक व्यक्तिले गरेको संघर्षलाई वृहत् रुपमा प्रस्तुत गरेको बताए।
पुस्तकमा रहेको मुख्य पात्रले भोगेको जीवन चरित्र अहिलेको राजनितिक नेतृत्वको प्रतिविम्ब रहेको ज्ञवालीले प्रकाश पारे। ज्ञवालीले भने,”समाजले साहित्यलाई अनुत्पादक ठानेपनि यस कृतिले नेपाली समाजले भोगेको राजनितिक संघर्षमा एक व्यक्तिको राजनितिक आरोह-अवरोहमार्फत समाजको चित्रण गरेको छ।”
अहिलेका लेखकहरू साहित्य र समाजका लागि नभइ आफूलाई स्थापित गर्न लागि गरेको भएपनि अलंकारले ल्याएको उक्त कृतिले समाजले नै फरक सिराबाट सोच्न बाध्य बनाउने उनले बताए।
त्यस्तै, समालोचक पौड्यालले सुदुर गाउँबाट अवसरका लागि आएको एक पात्रले गर्ने क्रान्ति र त्यो क्रान्तिको मिलन बिन्दुमा पुग्दा के प्राप्त गर्छ भन्ने प्रश्न कृतिले उठाएको बताए। नयाँ समाजको परिकल्पनामा क्रान्तिमा होमिएको एक व्यक्ति क्रान्ति असफल हुदाँ कि साधु बन्ने कि आत्महत्या गर्ने भन्दै यस कृतिमा मुख्य पात्र साधु रहेको स्पष्ट पारे।
”समग्रममा भन्दा यस कृति साधुले सुनाएको वृतान्त नै महाकाब्यको मुख्यविन्दु हो,” पौड्यालले भने। पछिल्लो समयमा आएका महाकाव्य भन्दा यस महाकाव्यमा फरकपन रहेको उनले बताए। ‘यस महाकाव्यमा परम्परागत शैलीलाई पनि छोडेको छैन भने नयाँ प्रयोग पनि गरिएको छ’, पौड्यालले भने, ”यस्तो भन्दै गर्दा कृति त्रुटिरहित भने छैन। कृतिले प्रश्न मात्र गरेको छ। जवाफको खोजी भने गरेको छैन।”
अर्का लेखक तथा समालोचक अधिकारीले महाकाव्यको महत्व साहित्यमा व्यापक रहेपनि यसलाई पढ्ने पाठकको कमी किन भइरहेको भन्ने खोजी गर्नुपर्ने धारणा व्यक्त गरे। ”नेपालका विश्वविद्यालयमा एकाध महाकाब्यको मात्र पढाई हुन्छ। जसले गर्दा हामीले महाकाब्यको महत्वलाई बढोत्तरी गर्न सकेका छैनौं,” अधिकारीले भने, ”महाकाव्य पढ्ने पाठकको वृद्धि गर्न यस कृति सफल हुनेमा म विश्वस्त छु।”
महाकाब्यलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो। पुस्तकको मुल्य ३ सय ७५ रुपैयाँ राखिएको छ।
Facebook Comment
Comment