फागुन अन्तिमबाट बागमती प्रदेश खेलकुद हुँदै

१३ जिल्लाका करिब ३ हजार १ सय खेलाडीहरूले सहभागिता जनाउने

प्रदेश खेलकुद प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, तेक्वान्दो, कराते, एथलेटिक्स, बक्सिङ र ब्याडमिन्टन खेललाई समावेश गरिएको छ।

नेपालभ्युज

हेटौंडा। बागमती प्रदेश खेलकुद प्रतियोगिता फागुन अन्तिमबाट हुने भएको छ। बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा २८ फागुनदेखि ५ चैतसम्म प्रदेशका विभिन्न जिल्लाहरूमा प्रयोगिता हुँदै छ। प्रतियोगितामा विभिन्न ८ खेलहरू हुने प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए।

प्रतियोगिताको उद्घाटन हेटौंडा र अन्य स्थान बुधबार बस्ने बैठकले तय गर्ने भण्डारीले बताए। प्रतियोगितमा प्रदेशका १३ जिल्लाका करिब ३ हजार १ सय खेलाडीहरूले सहभागिता जनाउने उनले बताए। प्रदेश खेलकुद प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, तेक्वान्दो, कराते, एथलेटिक्स, बक्सिङ र ब्याडमिन्टन खेललाई समावेश गरिएको छ।

“हामीले अघिल्लो वर्ष नै प्रदेश खेलकुद प्रतियोगिता गर्ने तयारी गरेका थियौं। तर, कोरोनाका कारण प्रतियोगिता हुन सकेन,” उनले भने, “यो पटक कोरोनाको प्रभाव कम भइसकेको छ। प्रदेश खेलकुद प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढेको छ। विभिन्न जिल्लाहरूमा प्रदेश खेलकुदका लागि खेलाडीहरू छनौट पनि भइरहेको छ।” स्थानीय तहदेखि नै खेलाडीहरू छनौट भएर आउने उनले बताए। सबै विधामा महिला र पुरुषको समान सहभागिता गराउने गरी छनौट भइरहेको उनले बताए। प्रतियोगितामा करिब ८ करोड रुपैयाँ खर्च अनुमान गरिएको उनले बताए।

प्रतियोगिताको तयारीका लागि मूल आयोजक समिति र ६ उपसमिति गठन गरिएको छ। खेलाडी छनोट गर्न प्रत्येक जिल्ला खेलकुद विकास समितिलाई जिम्मेवारी दिइएको छ । २० फागुनभित्र जिल्ला छनोट सम्पन्न हुनेछन्। पालिका तहबाट छनोट भएका खेलाडीलाई जिल्लामा प्रतिस्पर्धा गराएर प्रदेशमा अन्तिम प्रतिस्पर्धाका लागि ल्याउन परिषद्ले जिल्लालाई पत्राचार गरेको हो।

प्रदेशबाट विजेता वा छनोट भएका खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने छ। “राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट पनि यसै प्रतियोगिताबाट हुनेछ,” उनले भने, “यसले प्रदेशको आफ्नो छुट्टै टोली तयार पार्न हामीलाई सहज हुन्छ।” यो प्रतियोगिता हरेक वर्ष सञ्चालन गर्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved