हेटौंडा । क्षेत्रमा सरकारले बनाएको नीति कार्यान्वयन हुन नसक्दा समस्या खेप्नुपरेको अपाङ्गता भएका व्यक्तिहरुको गुनासो रहेको छ।
बालबालिका, युवा, ज्येष्ठ नागरिक, समलिङ्गी तथा तेस्रो लिङ्गीहरुको क्षेत्रमा रहेका अपांगता भएकाहरुले दोहोरो समस्या झेल्न बाध्य भएको राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका अध्यक्ष अश्विन लम्सालले बताए। ‘समाजले यसै पनि हेपेर व्यवहार गर्ने वर्ग यहाँ छन्।
राज्यले उनीहरुको लागि अलग-अलग नीति त बनाएको छ तर कार्यान्वयनमा जटिलता छ,’ उनले भने,‘बालबालिका, ज्येष्ठ नागरिक, तेश्रो लिङ्गीहरु आफैंमा पछि परेका छन्। यसमा पनि अपांगता भएकाहरु जोडिएपछि दोहोरो मारमा उनीहरु छन्। राज्यले बनाउने नीति अलि बिस्तृत हुनुपर्छ र कार्यान्वयन हुनुपर्छ।’
उनले बागमती प्रदेश सरकारलाई केही दिन अघि प्रदेश सरकारले बनाउनु पर्ने नीतिको मस्यौदा दिएको भन्दै उनले सोही अनुसार कानुन बनेमा सबै विषयहरु समेटिने दाबी गरे।
राष्ट्रिय बाल संरक्षण सञ्जालका केन्द्रीय अध्यक्ष प्रकाश खतिवडाले बहिस्करणमा अपाङ्गता भएका व्यक्ति बढी पर्ने बताएका छन्। सरकार नीति बनाउँदा नै चुकेको र बनेका नीतिको पनि कार्यान्वयन हुन नसक्दा झन् समस्या भएको उनले बताए।
‘नीति निर्माणमा नै सरकार चुकेको छ,’ उनले भने,‘नीति एकातिर छ, समस्या अर्कोतिर छ। अपांगता भएका व्यक्तिहरु समाजमा बहिष्करणमा परेका छन्। उनीहरुलाई सम्मानजनक व्यवहार गर्ने गरी सरकारले नीति बनाउनु पर्छ।
उनीहरुको जीविकाको सवालमा पनि सरकारले काम गर्नुपर्छ। तर, त्यसो हुन सकिरहेको छैन।’
तेश्रो लिङ्गी समुदायको लागि काम गरिरहेको संस्था ब्लु डाईमण्ड सोसाइटी मकवानपुरकी कार्यक्रम संयोजक किरण थापाले सार्वजनिक स्थलहरुमा मैत्रीपूर्ण शौचालय आवश्यक रहेको औंल्याईन्।
कुनै पनि संस्थामा अपाङ्गता र समलिङ्गीमैत्री भवन तथा शौचालय नहुँदा धेरैले समस्या खेप्न बाध्य रहेको बताइन्। ‘समलिङ्गी तथा तेस्रो लिङ्गीहरुलाई सार्वजनिक स्थलमा मैत्रीपूर्ण शौचालय नहुँदा थप समस्या हुने गरेको छ,’ उनले भनिन्,‘महिला पुरुष मात्र भनेर छुट्याइँदा समलिङ्गी तेस्रोलिङ्गीहरुलाई समस्या छ। मैत्रीपूर्ण शौचालयको आवश्यकता छ तर यस्तो हुन सकिरहको छैन।’ उनले पशुपन्छी, रुखबिरुवाको त अधिकार सुनिश्तित हुन्छ भने मानिसको अधिकार सुनिश्चित किन गरिँदैन ? भनेर प्रश्न समेत गरेकी थिइन्।
जेष्ठ नागरिक समाज मकवानपुरका अध्यक्ष हरिप्रसाद सिग्देलले बनेका नीति कार्यान्वयन नुहुनु नै सबैभन्दा ठूलो समस्या रहेको बताए। सरकार नीति बनाउनमै अलमलिएको र कार्यान्वयनमा खासै ध्यान नदिएको उनले बताए।
‘ज्येष्ठ नागरिकलाई राज्यले जसरी सम्मान गर्नु पर्ने हो त्यो हुन सकेको छैन,’ उनले भने,‘अझ ज्येष्ठ नागरिकहरुमा विभिन्न रोगसमेत हुन्छ । अपाङ्गता भएर थलिएर बस्नु पर्दाको पीडा अर्कै छ। परिवारले समेत अवहेलना गरिरहेको अवस्था पनि छ। यस्तोमा राज्यले हामीलाई संरक्षण गर्नु पर्छ। जीवनको उत्तरार्धमा सहज रुपमा दैनिकी विताउन पाउने हाम्रो अधिकार हो।’
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी सहायक निरीक्षक अन्जना उप्रेतीले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको धेरै समस्या प्रहरी कार्यालयसम्म आउने गरेको बताइन्। त्यस्तै, आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङले सबै मिलेर समानताको मुद्दा उठाउनुपर्नेमा जोड दिए।
अपाङ्गमैत्री मात्र नभएर अब सबैले समावेशी विकासमा ध्यान दिनुपर्ने अध्यक्ष लम्सालले बताए। अपाङ्गमैत्री भन्दा पनि मानवमैत्री संरचना निर्माणमा ध्यान दिने हो भने सबैको पहुँच हुन सक्ने उनको भनाइ छ।
Facebook Comment
Comment