मनाङमा फेरि हिमपात, यातायात अवरुद्ध

नेपालभ्युज

मनाङमा फेरि हिमपात, यातायात अवरुद्ध

मनाङ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मनाङमा भारी हिमपात भएको छ। आइतबार बिहानदेखि माथिल्लो मनाङमा भारी हिमपात भएको हो। करिब १५ दिनअघि भएको हिमपातपछि अवरुद्ध सडक खुलाउन नपाउँदै आइतबारदेखि पुनःहिमपात भएको छ। आइतबारदेखि हिमपातपछि यातायात सञ्चालन हुन सकेको छैन।

यहाँको सडकको हिउँ हटाउन नपाउँदै हिमपात भएसँगै समस्या भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए। उनका अनुसार मनाङको चामे र यस वरपरको तापक्रम माइनस ७ डिग्री सेल्सियस पुगेको छ।

“यहाँ पुनःहिमपात भएपछि सवारीसाधन चल्ने अवस्था छैन। भारी हिमपातले सवारी आवागमन अवरुद्ध भएको छ”, आचार्यले भने, “जनजीवन भने सामान्य रहेको छ।”

मनाङ ङिस्याङ गाउँपालिकाको खाङ्सार, टङ्की र मनाङ च्याखु, भ्राका, मुङ्जे, घ्यारु, ङाबल, हुम्डे, पिसाङ, नार्पाभूमि गाउँपालिकाको नार, फू, क्याङ तथा च्याखु गाउँका साथै सदरमुकाम चामे बजार क्षेत्रसहित कोतो, थानचोक, तिमाङ र नासों गाउँपालिकाको तिल्चे, नाचे, ताचे, ओडार गाउँ, घेराङ गाउँ, घेलाञ्चोक गाउँ, थोंचे, धारापनी र तालगाउँमा भारी हिमपात भएको छ।

पहाडी क्षेत्रमा वर्षा भएकाले जिल्लामा अझै पनि हिमपात हुनसक्ने देखिएको छ। हिमपात एवं चिसोबाट बच्न र सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालयले सूचना जारी गरी स्थानीयवासीलाई अनुरोध गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved