काठमाडौं । प्रविधि कम्पनी एक्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिन्डा याकारिनोले दुई वर्षको कार्यकालपछि पदबाट राजीनामा दिएकी छन् ।
उनको राजीनामा इलोन मस्कद्वारा एक्सलाई आफ्नो एआई कम्पनी xAI मा गाभ्ने निर्णय र प्लेटफर्ममा एआई च्याटबोट ग्रोकको विवादास्पद सामग्रीमाथि बढ्दो आलोचनाको बीच भएको हो ।
याकारिनोले लेखेकी छन्, ‘अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने, कम्पनीलाई रूपान्तरण गर्ने र एक्सका सबै कुरा एपमा परिणत गर्ने जिम्मेवारी सुम्पेकामा उहाँप्रति आभारी छु।’ यस विषयमा मस्कले भने अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्।
मस्कसँग सहकार्य गर्दा उनी व्यापार पक्षको नेतृत्व गरिरहेकी थिइन् भने मस्कले प्रविधि र उत्पादनमा ध्यान केन्द्रित गरेका थिए । सन् २०२३ को मे महिनामा उनी एक्समा आबद्ध भएकी थिइन् ।
स्पेनको समाचार संस्था Marca का अनुसार याकारिनोको हालको कुल सम्पत्ति अनुमानित ३५ देखि ४० मिलियन अमेरिकी डलर छ । यो सम्पत्ति उनले दशौं वर्षको सञ्चार तथा विज्ञापन क्षेत्रमा गरेका कामबाट आर्जन गरेकी हुन् ।
करिअरको सुरुवात उनले टर्नर ब्रडकास्टिङमा २० वर्ष काम गरेर गरेकी थिइन् । त्यसपछि NBCUniversal मा उनी ग्लोबल एडभर्टाइजिङ एन्ड पार्टनरसिप्स की अध्यक्ष भइन्, जहाँ उनले विज्ञापन प्रणालीमा डिजिटल रूपान्तरण ल्याइन् । NBC मा काम गर्दा उनले वार्षिक ४ मिलियन डलर पारिश्रमिक पाउँथिन् ।
एक्समा उनको आधार तलब ६ मिलियन डलर थियो । साथसाथै, वार्षिक २ मिलियन डलरसम्म बोनस र ४ मिलियन डलर बराबरको स्टक अप्सन (तीन वर्षमा वितरण हुने) सुविधा प्राप्त थियो । यसबाहेक विलासी यात्रा, आवास सुविधा र वित्तीय सल्लाह सेवाको विशेष सुविधा पनि उनीसँग थियो ।
Facebook Comment
Comment