काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा बनेका सामानहरूमा ५० प्रतिशत कर लगाउने चेतावनाी दिएका छन्। सामाजिक सञ्जालमा प्रकाशित ‘टारिफ पत्र’ मार्फत ट्रम्पले यस्तो चेतावनी दिएका हुन्, जसले दक्षिण अमेरिकी राष्ट्रसँगको उनको तनावलाई अझ बढाएको छ।
ट्रम्पले ब्राजिलमाथि अमेरिकी प्रविधि कम्पनीहरूमाथि हमला गरेको आरोप लगाएका छन्। बीबीसीका अनुसार उनले पूर्व दक्षिणपन्थी राष्ट्रपति जाइर बोल्सोनारोविरुद्ध चलिरहेको मुद्दालाई ‘विच-हन्ट’ (डायनसिकार) शैलीको राजनीतिक प्रतिशोध को संज्ञा दिएका छन्। बोल्सोनारोमाथि २०२२ को चुनाव उल्ट्याउने प्रयासमा संलग्न भएको अभियोगमा मुद्दा चलिरहेको छ।
यसको जवाफमा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले अमेरिकाले ब्राजिलका सामानमा महसुल बढाएमा त्यसको प्रत्युत्तर दिने चेतावनी दिएका छन्। साथै, उनले ब्राजिलको न्याय प्रणालीमा हस्तक्षेप नगर्न ट्रम्पलाई कडा शब्दमा सचेत गराएका छन् । यसअघि पनि लुलाले ब्राजिल कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार नगर्ने भन्दै कसैलाई पनि कानूनभन्दा माथि नराखिने स्पष्ट पारेका थिए ।
ट्रम्पले यसै साता तामा आयातमा ५० प्रतिशत महसुल घोषणा गरेका छन्, जुन आगामी अगस्त १ देखि लागू हुनेछ। उनले यो निर्णय राष्ट्रिय सुरक्षाका कारण गरिएको बताएका छन् । यसै साता उनले जापान, दक्षिण कोरिया, श्रीलंका लगायतका २२ वटा देशहरूलाई नयाँ महसुल योजना लागू हुने पत्र पठाएका छन्। यी योजनाहरू यसअघि अप्रिलमै अघि सारिएका थिए, तर आर्थिक बजारको नकारात्मक प्रतिक्रियापछि रोकिएका थिए।
यसअघि १० प्रतिशत कर घोषणा गरिए पनि अहिलेको ५० प्रतिशत निकै ठूलो वृद्धि हो। ट्रम्पले आफ्नो पत्रमा बढाइएको दर हालको सरकारको गम्भीर अन्याय सुधार गर्न आवश्यक रहेको बताएका छन्। उनले ब्राजिलको डिजिटल व्यापार अभ्यासमाथि ‘३०१ अनुसन्धान’ सुरु गर्न अमेरिकी व्यापार प्रतिनिधिलाई निर्देशन दिने समेत उल्लेख गरेका छन् ।
बोल्सोनारोको मुद्दा र अभिव्यक्ति स्वतन्त्रतामाथि ट्रम्पको टिप्पणी
ट्रम्पले ब्राजिलले “स्वतन्त्र चुनाव र अमेरिकी अभिव्यक्ति स्वतन्त्रतामाथि हमला” गरेको आरोप लगाएका छन्, जसमा “अमेरिकी सामाजिक सञ्जाल प्लेटफर्महरूको सेन्सरसिप” पनि समावेश छ। ट्रम्पको सामाजिक सञ्जाल कम्पनी ट्रम्प मिडिया लगायत केही अमेरिकी प्रविधि कम्पनीहरू ब्राजिलको अदालतका आदेशविरुद्ध लडिरहेका छन्। ब्राजिलको सर्वोच्च अदालतले गत महिना सामाजिक सञ्जाल कम्पनीहरू प्रयोगकर्ताको सामग्रीप्रति जिम्मेवार हुने निर्णय दिएको थियो।
ट्रम्पले पूर्व ब्राजिलियन राष्ट्रपति बोल्सोनारोलाई “धेरै सम्मान गर्ने” उल्लेख गर्दै उनको मुद्दालाई “अन्तर्राष्ट्रिय लज्जा” भनेका छन्। ट्रम्प र बोल्सोनारोबीच पहिले पनि मैत्री सम्बन्ध रहेको थियो र दुवै नेताले चुनाव हार्दा सार्वजनिक रूपमा हार स्वीकार गरेका थिएनन्।
बोल्सोनारोमाथि २०२३ जनवरीमा लुलाको जितपछि हजारौं उनका समर्थकहरूले सरकारी भवनहरूमा आक्रमण गरेको घटनामा संलग्न रहेको आरोप छ। बोल्सोनारो त्यो बेला अमेरिकामै थिए र उनले कुनै संलग्नता नभएको दाबी गर्दै आएका छन्। ट्रम्पले यस मुद्दालाई आफ्नै कानुनी समस्यासँग तुलना गर्दै यो “राजनीतिक विरोधीमाथिको हमला” मात्र भएको बताएका छन्।
ब्रिक्स सम्मेलन र लुलाको प्रतिक्रिया
ट्रम्पले रियो डि जेनेरियोमा सम्पन्न ब्रिक्स सम्मेलनलाई “अमेरिकाविरोधी” भन्दै त्यहाँ सहभागी देशहरूलाई थप १० प्रतिशत महसुल लगाइने बताएका छन्। उक्त समूहमा ब्राजिल पनि समावेश छ।
यस विषयमा राष्ट्रपति लुलाले सोमबार ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिमा प्रतिक्रिया दिँदै भने, “उहाँले बुझ्नुपर्छ, संसार बदलिएको छ। हामीलाई बादशाह चाहिएको छैन।” (बीबीसीबाट)
Facebook Comment
Comment